तेह्रथुम । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला, नेताहरु सिपी मैनाली र राधाकृष्ण मैनाली लगायतका नेताहरु जन्माएको जिल्ला हो तेह्रथुम । यि नेताहरुले नेपालको राजनीतिक इतिहास, आन्दोलन र वैचारिक बहसमा निकै ठुलो प्रभाव पार्दै आएका छन् ।
यि वाहेक अन्य थुप्रै राजनीतिक अनुहार तेह्रथुमको यही भूगोल बाट राष्ट्रिय राजनीतिमा छाउदै आएका छन् । कम्युनिष्ठ किल्ला रहेको तेह्रथुम पछिल्ला निर्वाचनहरुमा त्यो किल्ला तोडिदै र जोडीदै गरेको इतिहास छ । २०४८, ०५१ र ०५६ को निर्वाचन सम्म बामपन्थी, त्यसमा पनि नेकपा एमालेको पकड रहेको तेहथुम त्यस पछिका निर्वाचनमा भने नेपाली कांग्रेस पनि आफ्नो वर्चस्व स्थापना गर्न सफल भएको छ ।

जसका कारण यस पटकको निर्वाचनमा कुन पार्टीको उम्मेदवार हावी हुन्छ भनेर भन्ने सक्ने अवस्था छैन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन पछि जिल्लाका मतदाताले निर्वाचनैपिच्छे दल र आफ्नो आस्था समेत वदल्ने गरेको अवस्था छ । २०६४ र २०७९ मा भएको निर्वाचन मत परिमाणले पनि यही संकेत गरेको छ ।
२०४८ साल यता देशमा सम्पन्न भएका सात संसदीय निर्वाचन मध्ये पाँच पटक नेकपा एमाले र दुई पटक नेपाली कांग्रेसले चुनाव जीतेको राजनीतिक इतिहास छ । एउटै व्यक्ति दोहोरिएर निर्वाचित हुने सूचीमा नेकपा एमालेका डा.विजय सुव्वा र भवानी प्रसाद खापुङ छन् ।
२०४८ देखि २०७९ : जनमतको बदलिँदो अबस्था
२०४८ सालमा भएको निर्वाचनमा नेकपा एमालेका विजय सुव्वाले १० हजार ७ सय ५ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्लाका प्रभावसाली नेता तुलसी सुव्वालाई हराएका थिए । सो निर्वाचनमा राप्रपाका सुव्वाले ७ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । ०५१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार सुरेन्द्र कुमार फोम्बो राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तुलसी सुव्वालाई हराउदै विजयी भए । फोम्बोले १६ हजार ६ सय ५७ मत प्राप्त गर्दा सुव्वाले १२ हजार ८ सय ६७ मत प्राप्त गरेका थिए ।

बहुदलीय व्यवस्था पुनःस्थापित भएदेखि हालसम्म भएका सात संसदीय निर्वाचन मध्ये नेकपा एमाले नै बलियो राजनीतिक शक्तिको रुपमा तेह्रथुममा देखीदै आएको छ । यद्यपी एमालेले पनि निरन्तर आफ्नो जनमत जोगाउन भने सकेको छैन । २०५६ मा नेकपा एमालेका विजय सुव्वा नेपाली कांग्रेसका गणेश प्रसाद विमलीलाई हराउदै विजयी भएका थिए । सुव्वाले १६ हजार ६ सय २८ मत प्राप्त गरेका थिए भने विमलीले १२ हजार २२ मत प्राप्त गरेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस बाट तुलसी सुव्वा १९ हजार १ सय १३ मत ल्याएर विजयी हुन सफल भए । सुव्वाका प्रतिष्पर्धी नेकपा एकालेका उम्मेदवार भवानी प्रसाद खापुङले १५ हजार ३ सय ७५ मत ल्याएर पराजय व्यहोर्न पुगे ।
यो निर्वाचन सम्म आईपुग्दा यो नै नेकपा एमालेको पहिलो पराजय थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवारी दिदै आएका तुलसी सुव्वाले कांग्रेस प्रवेश गरेपछिको पहिलो जीत थियो यो निर्वाचन । कम्युनिष्ठ किल्लामा कांग्रेसले यो पटक भने सुव्वाको उम्मेदवारीमा विजयको खम्बा गाड्न सफल भएको थियो ।

कम्युनिष्ठ किल्ला तोढ्दै विजय हासील गरेर नेपाली कांग्रेसको जिल्लामा बलियो उपस्थिती देखाएका सुव्वा र सिंगो नेपाली कांग्रेस पार्टीले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने आफ्नो त्यो वर्चस्व कायम गर्न सकेन । पहिलो संविधानसभा निर्वाचनमा सहजै जीत निकालेर संषद प्रवेश गरेका कांग्रेस उम्मेदवार सुव्वा दोस्रो संविधानसभा निर्वाचनमा भने पहिलो संविधानसभा निर्वाचनका प्रतिष्पर्धी उनै एमालेका उम्मेदवार भवानी प्रसाद खापुङ संग पराजीत भए । यो पटकको निर्वाचनमा खापुङले १५ हजार १ सय ११ मत प्राप्त गरेका थिए । अघिल्लो पटकका विजेता सुव्वाले भने १३ हजार १ सय ८ मत प्राप्त गरेका थिए ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सशस्त्र विद्रोहको रापतापबाट आएका तत्कालीन नेकपा माओवादीका उम्मेदवारले पनि तेह्रथुममा आफ्नो उपस्थिती बलियो देखाउन सकेनन् । त्यस यता भएका निर्वाचनमा पनि माओवादीको राजनीतिक उपस्थिती तेह्रथुममा कमजोर नै देखीदै आएको छ । २०७४ मा भएको पहिलो संघिय प्रतिनिधीसभा निर्वाचनमा पनि एमालेका भवानी प्रसाद खापुङ नेपाली कांग्रेसका उम्मेदवार सिता गुरुङलाई हराउदै विजयी भए । खापुङले २१ ह्जार ३ सय ३५ मत प्राप्त गरेका थिए भने गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिईन् ।

२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने जनमतको दिशा फेरी बदलियो । उनै कांग्रेसकी उम्मेदवार सिता गुरुङले नेकपा एमालेका उम्मेदवार डा. विजय सुव्वालाई हराउदै जित आफ्नो पक्षमा पार्न सफल भईन् । नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुव्वालाई चुनावमा हराएर तेह्रथुम बाट विजयी भएकी गुरुङ देशैभरमा नेपाली कांग्रेस पार्टी बाट प्रत्यक्ष निर्वाचन लडेर जीत निकाल्ने एक्की महिला वन्न सफल भईन् । गुरुङ शहरी विकास मन्त्री पनि बनिन् । तर तिनै गुरुङले यस पटकको निर्वाचनमा टिकट पाईनन् ।
किन असन्तुष्ट देखिन्छन् मतदाता ?
केही बर्ष यता देखी तेह्रथुमको चुनावी प्रवृत्ति हेर्दा एउटा प्रश्न उठ्छ, किन यहाँ जनमत स्थिर हुँदैन ? अर्थात मतदाताले किन आफ्नो मत परिवर्तन गरीरहेका छन् ? आफुले आस्था राखेको राजनीतिक दल नै अदल वदल गर्ने कार्यकता र मतदाताको जमात पनि ठुलो छ । आफुले मत दिएर जिताएर पठाएका जनप्रतिनिधि बाट आशा र माग पुरा नहुंदा पनि मतदाताहरु फरक राजनीतिक दल तर्फ मोडीने गरेको देखीएको छ ।
नेताहरुमा प्रणाली सुधार, सेवा वितरण र विकासमा असफल हुँदा आम जनतामा निराशा छाएको प्रष्ट देखिन्छ । त्यसैले उनीहरू सधैं सक्षम व्यक्तिको आशामा मत फेरिरहेका छन् । परिवर्तनको चाहनाले जनताले नेता बदलिरहेका छन् । २०७० पछिका तीनवटै तहका अधिकांश निर्वाचनमा गठबन्धन गरेर चुनाव लढ्दै आएका राजनीतिक दल र तीनका उम्मेदवारहरू यसपटक भने एक्लाएक्लै चुनावी मैदानमा छन् । एमालेले केन्द्रमा राजनीतिक पहुँच भएका भानुभक्त ढकाललाई अघि सारेको छ ।

कांग्रेसले युवा सन्तोष सुव्वालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पेशाले ईन्जिनियर युवा सुरेन्द्र कार्कीलाई चुनावी मैदानमा उतारेको छ । त्यस्तै श्रम संस्कृती पार्टीले सुविन्द्र थेगुवा र नेपाली कम्युनिष्ट पार्टी बाट रणध्वज कन्दङवा चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार तेह्रथुममा १२ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
यस पटकको राजनीतिक गठबन्धनविनाको चुनावी प्रतिस्पर्धाले दलहरुको वास्तविक सांगठनीक शक्ति र उम्मेदवारको व्यक्तिगत प्रभाव मापन गर्ने अवसर पनि मतदातालाई दिएको छ ।
जिल्ला भन्दा बाहिर शहरमा अध्ययन वा रोजगारी गरेर फर्किएका युवा मतदाताले चुनावी परिणाममा प्रभाव पार्न सक्छन् । शहर या जिल्ला बाहिर रहेका युवा मतदाताको उपस्थिति कुनै उम्मेदवार विशेषका लागि निर्णायक बन्न सक्ने आँकलन पनि त्यतीकै गरिएको छ ।
उम्मेदवारका आ–आफ्नै चुनावी रणनीति
नेकपा एमालेका नेता तथा सचिव भानुभक्त ढकाल अनुभवी राजनीतिकर्मी हुन् । उनी संग लामो समय विद्यार्थी राजनीति, पार्टी संगठन र सरकारमा वसेर काम गरेको अनुभव छ । ढकालले आफ्नो पहिलो राजनीतिक सफलता मोरङ–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि मन्त्रीको हैसियतमा स्वास्थ्य तथा कानुन मन्त्रालय समेत सम्हालेका थिए ।

२०७९ को चुनावमा मोरङ–३ बाट पराजित भएपछि उनले जन्मभूमि तेह्रथुममा ‘घर फर्कने’ र ‘सेवा गर्ने’ अवसरका रूपमा यस पटकको निर्वाचनलाई लिएका छन् । ढकालले आफ्नो लामो राजनीतिक अनुभव, नेतृत्व क्षमता र संघीय सरकारमा काम गरेको अनुभवलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । उनले स्थानीय विकास, पूर्वाधार सुधार, स्वास्थ्य–शिक्षा पहुँच र रोजगारीका अवसर सृजना गर्न जोड दिएका छन् ।
भरपर्दो पार्टी संरचना र उच्च राजनीतिक नेतृत्व, संघीय सरकार सँग जोडिएर स्थानीय पूर्वाधार विकासमा प्रभावकारी काम र भोट बैंकका रूपमा एमाले समर्थकहरूको तल्लो तह सम्मको संगठन ढकालको बलीयो पक्ष हो । यती हुँदा हुंदै पनि मोरङ क्षेत्रबाट नयाँ क्षेत्रमा प्रतिस्पर्धाका लागि आएका कारण क्षेत्रीय पहिचान कमजोर हुन सक्ने संभावना ढकालका लागि चुनौती वन्न सक्छ ।
नेपाली कांग्रेसका युवा नेता सन्तोष सुव्वा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ उम्मेदवार हुन् । पार्टीले युवा नेतृत्वको सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले उनलाई टिकट दिएको देखिन्छ । सुव्वाले युवा सशक्तिकरण, रोजगारी समस्या, कृषि र पर्यटन प्रवद्र्धन, महिला–युवाहरुमा सामाजिक समावेशीता तथा सुशासनका विषयलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् ।

निर्वाचन क्षेत्रका युवा मतदाता र परिवर्तनका पक्षधर मतदाता बाट समर्थन पाउन सक्ने देखीएकाले यो नै उनको बलियो पक्ष मानीएको छ । पार्टीको पुरानो तहमा देखिएको भित्री विभाजनले रणनीतिक मत घटाउन सक्ने जोखिम, एमालेका अनुभवी पुराना नेता सँगको कडा मुकाबिला र रास्वपामा युवा मतदाताको देखीएको जनलहर सुव्वाका लागि निकै चुनौती पनि वन्न सक्छ ।
अन्य राजनीतिक दलको विकल्पको रुपमा रास्वपाका उम्मेदवार सुरेन्द्र कार्की चुनावी मैदानमा छन । ढकाल र सुव्वा जस्ता पुराना राजनीतिक दलका उम्मेदवार सामु कार्की नयाँ र पुवा पुस्ताका उम्मेदवार हुन् । तर पनि उनी प्रति मतदाताको आकर्षण वढ्दो अवस्था देखिन्छ ।

भ्रष्टाचार विरोधी अभियान र क्षेत्रीय विकासलाई प्राथमिकताका रूपमा उठाउँदै स्थानीय समुदायमा रोजगारी र सेवा केन्द्रित कार्यक्रम ल्याउने एजेन्डा कार्कीले अघि सारेका छन् । पार्टीको नयाँ विचार, मतदातामा पार्टीको नयाँ छवि र परिवर्तनको संदेश उनका लागि बलियो पक्ष हुनसक्छ । पुराना पार्टीहरू जस्तै कांग्रेस र एमाले सँगको प्रत्यक्ष प्रतिस्पर्धा, संसदीय अनुभव नभएको जस्ता कारण उनका लागि चुनौती वन्न सक्छन् ।
चुनावी अवस्था
तेह्रथुम एमाले र कांग्रेस बीच प्रतिस्पर्धा हुंदै आएको जिल्ला हो । तर अहिले युवा मतदाताको भूमिका, स्थानीय विकासका मुद्दा, क्षेत्रीय पहिचान बनाउने चाहना तथा रास्वपा र श्रम संस्कृति पार्टीको उभारले यि दुई पुराना दललाई चुनौती दिएको देखिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तुलसी सुब्बा (कांग्रेस) विजयी भए । तर २०७० र २०७४ सालमा एमालेका भवानीप्रसाद खापुङ ले लगातार दुई पटक जित हात पारे । २०७९ मा पुनः कांग्रेसकी सीता गुरुङ विजयी भइन् । यो पालैपालोको जित–हारले देखाउँछ कि मतदाताले स्थायी निष्ठा भन्दा पनि परिस्थिति अनुसार निर्णय गर्ने गरेका छन् ।

मतदाताको बदलिँदो मनोविज्ञान लाई अध्ययन गर्ने हो भने उम्मेदवारको व्यक्तिगत छवि र पहुँचलाई निकै महत्व दिएको देखिन्छ । २०७९ सालको निर्वाचनमा झिनो मतान्तरले परिणाम टुङ्गिएको थियो । यसले यहाँको प्रतिस्पर्धा अत्यन्त सन्तुलित रहेको संकेत गर्छ । तर उक्त निर्वाचनमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र लगायतका अन्य दल संग गठवन्धन गरेको थियो ।
तेह्रथुमको पछिल्लो निर्वाचन मत परिणाम केलाउदा लगातार एउटै दललाई मत नदिई पालैपालो परिवर्तन गर्नुले मतदाताले “काम देखाउन नसके परिवर्तन हुन्छ” भन्ने राजनीतिक सन्देश दिन खोजेको बुझ्न सकिन्छ ।