काठमाडौ । सभामुख चयनका लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा गरिएको प्रस्ताव अनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ । पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ ।
यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसूचीलाई पनि पुरानै नियमावली अनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।
ज्येष्ठ सदस्य राणाले आयोजना गरेको बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका मुख्य सचेतक लेखक, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपा नेपालका नेता प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला लगायतको सहभागिता थियो ।
प्रतिनिधिसभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दा सम्म पुरानै नियमावली अनुसार बैठक बस्ने निर्णय पनि भएको प्रमुख सचेतक लेखकले बताए ।