तेह्रथुम । निर्माण व्यवसायको क्षेत्रमा कार्यरत भोजपुर पौवादुङमा गाउँपालिका २ तिवारी भञ्ज्याङका ३६ बर्षिय नारायण तिवारी (सानु) ले लकडाउनका कारण समस्यामा परेका ५ सय वढी नागरिकलाई राहत वितरण गरेका छन् । व्यक्तिगत खर्चमा तिवारीले १० लाख रुपैंया वढीको खाद्यान्न र स्वास्थ्य सामग्री खरीद गरी टोल बस्तीमै पुगेर वितरण गरेका हुन् ।
युवा निर्माण व्यवसायी तिवारीले आफ्नो जन्मथलो भोजपुरको तिवारी भञ्ज्याङमै पुगेर १ सय ८० बिपन्न परिवारलाई खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण गरे । विश्वभरी फैलीएको कोरोना भाईरस संक्रमणका कारण देश लकडाउनमा हुंदा निम्न आय भएका, विद्यार्थी, मजदुर लगायतलाई विहान बेलुकाको छाक टार्न समस्या भएपछि तिवारी खाद्यान्न सहितको सामग्री बोकेर उनीहरुका टोल बस्ती सम्म नै पुगेका हुन् ।
स्थानीय सरकारको नजरमा नपरेका उनीहरुलाई आफुले व्यक्तिगत रुपमा खाद्यान्न खरीद गरेर वितरण गरेको उनले वताए । भोजपुर बाट आएर पुर्वी तराईको सुनसरी र मोरङमा बसोबास गर्ने बिपन्न परिवार, विद्यार्थी, मजदुर र गृहणी २ सय जना वढीलाई पनि खाद्यान्न सहित अन्य स्वास्थ्य सामग्री वितरण गरेका छन् । तिवारीले गत आईतबार देखी लगातार खाद्यान्न वितरण गरीरहेका छन् । तिवारीले मंगलबार (आज) सुनसरीको इटहरी र धरान आसपासका क्षेत्रमा बसोबास गर्ने बिपन्न नागरिकको पहिचान गरी खाद्यान्न लगायतका सामग्री वितरण गरीरहेका छन् ।
तिवारीले यस अघि पनि गन्तव्य तर्फ हिडेर विच बाटोमा अलपत्र परेका ३ सय वढी यात्रु र अन्य नागरिकलाई तेह्रथुम र संखुवाभाको सिमा देउरालीमा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका थिए । कोरोना भाइरस (कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर, विभिन्न विकासे आयोजनाका मजदुर, विद्यार्थी लगायतलाई तिवारीले खोजी खोजी खाद्यान्न लगायतका सामग्री वितरण गरीरहेका छन् ।