काठमाडौं । संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित १५ जेठदेखि निर्णायक आन्दोलन थाल्ने तयारी गरिरहेका राजावादीहरूले गम्भीर सुरक्षा चिन्ता जनाएका छन् । राजधानीको एक होटलमा मंगलबार विभिन्न मिडियाका सम्पादकहरूसँग राजावादी, हिन्दूवादी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्ति र नेकपा एमालेको तयारीका कारण सुरक्षा खतरा देखिएको चिन्ता व्यक्त गरेका हुन् ।
‘हामीले रत्नपार्कबाट आन्दोलन सुरु गर्दैछौं । यो थाहा पाएपछि प्रधानमन्त्रीको पार्टीले त्यही छेउमा कार्यकर्ता उतार्ने भनेको छ,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘यसबाट प्रधानमन्त्री आफैं मुठभेड चाहन्छन् भन्ने देखियो ।’ तर, आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने लिङ्दनले प्रतिबद्धता जनाए ।
‘राज्य आफैं भड्काउने खेलमा लागेको छ, तर हामी संयम गुमाउँदैनौं,’ उनले भने ।
लिङ्देनकै जस्तो चिन्ता राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति पार्टीका अध्यक्ष केशरबहादुर बिष्ट र राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनाए । ‘हामी शान्तिपूर्ण र निर्णायक आन्दोलन थाल्दैछौं । तर प्रधानमन्त्रीको भाषाले हामीलाई चिन्तित बनाएको छ,’ सुवेदीले भने, ‘सत्याग्रहकै स्वरूपमा हुने आन्दोलनको पक्षमा साथ दिन अपिल गर्छु ।’
राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरूको आन्दोलन संविधानसम्मत नै हुने भए पनि प्रधानमन्त्री र मन्त्रीहरूले आपत्तिजनक अभिव्यक्ति दिइरहेको बताए । ‘मैले सरकारको प्रवक्ताको कुरा सुनें, व्यवस्था विरोधीहरूलाई प्रतिबन्ध लगाइदिन्छौं भन्नुभयो,’ थापाले भने, ‘जबकि हामीले संविधानको केही दफा संशोधन गरौं मात्र भनेका हौं ।’