काठमाडौं । जात्रा, महोत्सव अथवा ठूला कार्यक्रमहरूमा जान परे आजभोलि आफूसँगै आफ्नो ग्याजेट्सको पनि ख्याल राख्नु पर्छ । किनकि स्मार्टफोन, क्यामेरा, ल्यापटप जस्ता उपकरणमा राम्रै लगानी गरिएको हुन्छ ।
त्यसमाथि स्मार्टफोन त हरपल साथमै हुन्छ । त्यसो हुनाले आज हामी त्यस्ता ठूला कार्यक्रमहरूमा स्मार्टफोन लाँदा अपनाउनु पर्ने सामान्य तर प्रभावकारी टिप्सबारे जानकारी दिने छौं ।
१. यदि आफ्नो परिचयपत्र अथवा पैसा लानुहुन्छ भने फोन र फोनको केसको बिचमा राख्नुहोस् । यसले गर्दा पकेटमारबाट बचाउने गर्छ । तर, सम्झनु पर्ने कुरा कभर पारदर्शी नहुने खालको राम्रो हुन्छ ।
२. भिडमा धुलोमैलो हुन सक्छ । अनि, अकस्मात् वर्षा हुन सक्छ । त्यस्तो अवस्थाबाट बँच्न सानो आकारको प्लास्टिकको ब्याग बोक्न सक्नुहुन्छ । यसले पसिना, पानी, धुलोमैलो जस्ता कुराहरूबाट फोनलाई बचाउँछ ।
३. वालपेपरमा आफ्नो नाम र तपाईंको वैकल्पिक फोन नम्बर राख्दा फाइदा नै हुन सक्छ । यसो हुँदा तपाईंले फोन हराइहाल्नु भए भेट्टाउने मान्छेले सम्पर्क गर्नसक्ने सम्भावना जीवित रहन्छ । अथवा आयोजकले सार्वजनिक उद्घोष गरेर जानकारी गराउँदा तपाईंले जानकारी पाउन सक्नुहुन्छ ।
यसका लागि फोनमा भएको नोट्स एपमा नाम, ठेगाना, वैकल्पिक सम्पर्क नम्बर जस्ता आवश्यक विवरण राखी त्यसको स्क्रिनशट लिन सक्नुहुन्छ ।
४. अफलाइन म्याप डाउनलोड गर्नु त्यस्तै अर्को राम्रो उपाय हो । किनकि नयाँ ठाउँमा जाँदै हुनुहुन्छ भने तपाईंलाई बाटोबारे थाहा नहुन सक्छ । गुगल म्याप्सबाट अफलाइन म्याप्स डाउनलोड गरेको खण्डमा सजिलै नेभिगेट गर्न सक्नुहुन्छ ।
यसले डेटा खरिद गर्ने पैसा जोगिन्छ । अथवा यसो गर्नलाई फोनमा स्टोरेज छैन भने तपाईंले म्याप्सले देखाउने ट्राभल डिरेक्सनको स्क्रिनशट लिन सक्नुहुन्छ ।
५. मानौं, तपाईंको स्मार्टफोनमा चार्ज पनि सकिन लागेको छ । अब यस्तो अवस्थामा हतार पनि छ । अनि फास्ट चार्जर पनि बोक्नु भएको छैन भने तपाईंले एयर प्लेन मोड अन गरेर चार्ज गर्न सक्नुहुन्छ । यसो हुँदा फोन केही चाँडो चार्ज हुन सक्छ ।
६. ब्याट्री बचाउनु पनि पर्ने छ । अनि डेटा पनि चलाउनु पर्ने छ । यस्तो अवस्था सिर्जना भए तपाईंले केही निश्चित एप तथा फिचरका लागि डेटा बन्द गर्न सक्नुहुन्छ । ताकि अनावश्यक एप तथा फिचमा डेटा तथा ब्याट्री खर्च नहोस् ।
७. जात्राहरूको एक्सन शट लिन कसलाई मन नहोला । तर, यस मामिलामा फोन केही कमजोर छ । यद्यपि तपाईंले क्यामेरा एपको सटर बटन लगातार थिचिरहनु भयो भने कुनै न कुनै फोटो चाहे जस्तै आउन सक्छ । तर, यसो गर्दा राम्रो एक्सन फोटो आउँछ आउने केही निश्चित छैन ।
८. आफ्नो अथवा साथीहरूसँग सेल्फी लिँदा तपाईंले टाइमर प्रयोग गर्न सक्नुहुन्छ । किनकि सेल्फी खिच्दा दुवै हात प्रयोग गर्नु अलि सम्भव हुन्न । अनि, एक हातले खिच्दा फोटो नराम्रो आउन सक्छ । त्यसबाट बँच्न टाइमर एउटा राम्रो विकल्प बन्न सक्छ । अथवा तपाईंले इयरबड्स प्लगइन गरेर त्यसको भोल्युम बटन ट्याप गर्न सक्नुहुन्छ ।
९. कतिपय अवस्थामा राम्रो भिडिओ निस्कन्छ तर वरपरको अडिओ राम्रो हुँदैन । त्यस्तो अवस्थामा फोनको माइक्रोफोनलाई एक हातले छेकेर फोनमा फिल्मिङ थाल्नुहोस् । यसले कतिपय बाहिरका आवाजलाई रोकिदिन सक्छ ।
यी सामान्य तरिकाहरू हुन् । तर, कतिपय अवस्था सामान्य तरिका नै प्रभावकारी ठहरिन सक्छ । परिस्थिति अनुसार यी टिप्स लागु गर्न सक्नुहुन्छ । टच पाना बाट ।