सिरहा । जेन–जी आन्दोलनको नाममा सिरहाको कल्याणपुर नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीमा वडाध्यक्षकै संलग्नता पुष्टि हुने भिडियो फेला परेको छ । कल्याणपुर नगरपालिका ९ का वडाध्यक्ष विनोद कुमार यादवले भीडलाई उक्साएको भिडियो समेत सार्वजनिक भएको छ ।
वडाध्यक्ष यादव डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचित भएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले दिनेश नाम गरेका एक युवकलाई कार्यालयको ताला तोड्न र आगो लगाउन भनेका छन् । नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट गर्ने वडाध्यक्ष यादवले नै भीडलाई ल्याएर उक्साएको स्थानीय प्रत्यक्षदर्शी धनुष मण्डलको भनाई छ ।
नगरपालिकाको ट्याक्टर र जेनेरेटर लगायत आगजनीबाट पूर्ण रूपमा जलेको छ भने कार्यालयभित्रको दराज, टेबल, सोफा, कम्प्युटर, कुर्सीमा तोडफोड र आगजनी गर्दै अधिकांश उनीहरूले लुटेर लगेका हुन् । यसबाट करिब दस करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको नगरपालिकाले जनाएको छ ।
कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह १ लाख रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेर निलम्बनमा परेका थिए । त्यस पछि उनी निकट रहेका वडाध्यक्ष यादवले नगरपालिकामा पटक पटक विवाद गर्ने प्रयास गर्दै आएका थिए ।
यसै विच वडाध्यक्ष यादवले आफू मुछिएको व्यक्तिगत घटनामा कानुनी कारबाहीबाट जोगिन सरकारी लेटरप्याडको दुरुपयोग गरेका छन् । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रहेको भिडियोका आधारमा घटनामा वडाध्यक्षकै संलग्नता रहेको समाचार यसअघि नै सञ्चारमाध्यममा आएको थियो । तर घटनाको खण्डन गर्न उनले वडा कार्यालयकै सरकारी लेटप्याड दुरुपयोग गरेका हुन् ।
आन्दोलनमा सिरहाका तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आक्रमण भएको थियो । अवस्था सामान्य बन्दै गएपछि प्रहरीले तोडफोड, आगजनी र लुटपाटको क्षति र संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।