तेह्रथुम । लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा म्याद समाप्त भएका तथा अखाद्य र गैरउपभोग्य सामग्री जफत गरी नष्ट गरिएको छ। अनुगमनका क्रममा २० हजार ९ सय ४ रुपैयाँ २१ पैसा बराबरका सामग्री जफत गरी नष्ट गरिएको हो।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा बसन्तपुर बजारका विभिन्न व्यापारिक पसलमा संयुक्त अनुगमन गरिएको थियो। अनुगमन टोलीमा लालीगुराँस नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम, कोलेनिका तेह्रथुम, स्वास्थ्य कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, बसन्तपुरका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, तेह्रथुम उद्योग वाणिज्य संघ तथा जिल्लास्थित पत्रकार लगायतको सहभागिता थियो।

अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका खाद्य तथा अन्य उपभोग्य सामग्रीको म्याद, गुणस्तर, मूल्यसूची, बिल तथा व्यवसाय दर्ता र नवीकरणको अवस्था समेत निरीक्षण गरिएको थियो। म्याद समाप्त भएका तथा उपभोगका लागि अनुपयुक्त भेटिएका सामग्री नियन्त्रणमा लिएर नष्ट नष्ट गरीएको थियो ।
अनुगमन टोलीले व्यवसायीलाई पसलमा मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई खरिदको बिल उपलब्ध गराउन तथा व्यवसाय दर्ता र नवीकरण अद्यावधिक राख्न निर्देशन दिएको थियो। त्यस्तै खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर र उपभोग्य मिति नियमित रूपमा जाँच गरेर मात्रै बिक्री गर्न व्यवसायीलाई सचेत गराइएको थियो।
अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिनुले व्यवसायीले सामान खरिद, भण्डारण र बिक्री गर्दा त्यसको म्याद तथा गुणस्तरमा थप ध्यान दिनुपर्ने देखिएको छ। उपभोक्ताले पनि सामान खरिद गर्दा उत्पादन र म्याद समाप्त हुने मिति, मूल्य तथा बिलबारे जानकारी लिनुपर्ने अनुगमन टोलीले जनाएको छ।

स्थानीय बजारमा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि अनुगमनलाई औपचारिकतामा मात्र सीमित नराखी नियमित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। बजार अनुगमन सँगै व्यवसायीलाई कानुनी प्रावधान बारे जानकारी गराउने र उपभोक्तालाई समेत सचेत गराउने उदेश्यले वजार अनुगमन गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।