अहिले पर्यटक केवल सुन्दर दृश्य हेर्न मात्र यात्रा गर्दैनन्, उनीहरू कुनै समुदायको संस्कृति बुझ्न, स्थानीय जीवनशैली अनुभव गर्न, मौलिक खाना खान र त्यहाँको इतिहास सँग जोडिन चाहन्छन् । यही परिवर्तनलाई समयमै बुझेर तेह्रथुमको लालीगुराँस नगरपालिकाले बसन्तपुर वजार छेउको खुल्ला नागीलाई चोत्लुङ पार्कका रूपमा विकास गर्ने निर्णय गर्यो ।
आज त्यसको परिणाम देखिन थालेको छ । नेपालमा पर्यटनको चर्चा गर्दा अधिकांशले हिमाल, राष्ट्रिय निकुञ्ज, मठ मन्दिर वा तालतलैयाको कुरा गर्छन् । तर पछिल्ला वर्षमा विश्व पर्यटनको अवधारणा परिवर्तन हुँदै गएको छ ।
पार्क अहिले केवल घुम्न जाने एउटा सुन्दर ठाउँ मात्र होइन, संस्कृति, सभ्यता, इतिहास र आर्थिक विकासलाई एउटै सूत्रमा बाँध्ने सफल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म स्थानीयले गाईवस्तु चराउने खुला चौरका रूपमा मात्र प्रयोग गर्दै आाएको नागी क्षेत्र आज हजारौँ आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । परिवर्तन यति छिटो भएको छ कि पहिलो पटक पुग्ने मानिसलाई विश्वास गर्न नै गाह्रो पर्छ ।

पार्कमा संरचना निर्माण गर्दा ढुंगा, माटो, काठ लगायतका वातावरण मैत्री सामग्रीको प्रयोगमा ध्यान दिएको छ । पार्क लिम्बु समुदायको इतिहास, सभ्यता र मुन्धुम दर्शनमा आधारित छ । यहाँ निर्माण गरिएका परम्परागत घर, सांस्कृतिक प्रतीक, संग्रहालय, खुला संरचना र वातावरणले लिम्बु समुदायको जीवन पद्धति झल्काउँछ । आधुनिक कंक्रिटको संरचनाले भरिएको पार्क भन्दा फरक छ । यसले आगन्तुकलाई एउटा सभ्यताको अवस्था देखाउछ । यही कारण यहाँ पुग्ने मानिस केवल घुमेर फर्कँदैनन्, उनीहरूले एउटा समुदायको जीवन दर्शनलाई पनि अनुभव गरेर फर्कन्छन् ।
पार्कको परिकल्पना लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभएको हो । ‘बसन्तपुरलाई लिम्बु सभ्यता, मुन्धुम संस्कृति र स्थानीय पहिचान सँग जोडिएको पर्यटन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा हो’ नगर प्रमुख माबोहाङले भन्नुभयो । स्थानीय सरकारको पहलमा प्रदेश सरकार र संघीय सरकारको आर्थिक सहयोग जुटाइएको छ । चरणबद्ध रूपमा पार्क, परम्परागत घर, पदमार्ग, विश्राम स्थल, सौन्दर्यकरण र अन्य पूर्वाधार निर्माण गरिएका छन् । धेरै सरकारी योजना कागजमै सीमित हुने नेपालमा यो योजना भने व्यवहारमै सफल हुँदै गएको देखिन्छ ।

पर्यटन क्षेत्रमा एउटा भनाइ छ—कुनै ठाउँ आकर्षक हुन प्राकृतिक रूपमा सुन्दर हुनैपर्छ भन्ने छैन, त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । चोत्लुङ पार्कले यही तथ्य प्रमाणित गरेको छ । नागीमा हिमाल थपिएको छैन, जंगल नयाँ उम्रिएको छैन, मौसम फेरिएको छैन । फेरिएको कुरा मानिसको सोच हो । त्यही सोचले एउटा सामान्य चौरलाई नयाँ पहिचान दिएको छ ।
नेपालका धेरै स्थानीय तहमा यस्ता सयौँ नागी, डाँडा, वन र खुला चौर छन् । तर ती ठाउँ वर्षौं देखि उस्तै छन् । किनभने तिनलाई हेर्ने दृष्टिकोण विकास हुन सकेको छैन । चोत्लुङ पार्कले भने विकासको आधार कंक्रिट होइन, पहिचान हो भन्ने देखाएको छ । आफ्नो मौलिकता जोगाएर पनि पर्यटन मार्फत आर्थिक विकास गर्न सकिन्छ भन्ने सोचका साथ काम भैरहेको नगर प्रमखु माबोहाङले वताउनु भयो ।
पार्क अहिले सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको छ । फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राममा हजारौँ फोटो तथा भिडियो सार्वजनिक भइरहेका छन् । आजको डिजिटल युगमा कुनै पनि पर्यटकीय गन्तव्यको प्रचार सरकारी विज्ञापन भन्दा सामाजिक सञ्जालले धेरै प्रभावकारी रूपमा गरिरहेको छ । एक जना पर्यटकले खिचेको एउटा भिडियो लाखौँ मानिस सम्म पुग्छ । त्यसले अर्को हजार मानिसलाई त्यहाँ पुग्न प्रेरित गर्छ । चोत्लुङ पार्कले पनि यही लाभ उठाइरहेको छ ।

तर कुनै पनि पर्यटन गन्तव्यको वास्तविक सफलता केवल मानिसको भीडले मापन हुँदैन । त्यसले स्थानीय अर्थतन्त्रमा कति योगदान पुर्यायो भन्ने अझ महत्वपूर्ण हुन्छ । यही दृष्टिले हेर्दा चोत्लुङ पार्कको यात्रा निकै आशाजनक देखिन्छ । नगरपालिकाका अनुसार गत आर्थिक वर्षमा मात्र पार्कबाट ३० लाख रुपैयाँ वढी राजस्व संकलन भएको छ । स्थानीय सरकारका लागि यो सामान्य उपलब्धि होइन । यसले पर्यटनलाई व्यवस्थित गर्न सकियो भने स्थानीय तह आफैं आम्दानीको स्रोत सिर्जना गर्न सक्षम हुन्छ भन्ने सन्देश दिएको छ ।
तर ३० लाख रुपैयाँ भन्दा ठूलो कुरा त्यो रकमले यस क्षेत्रका गाउँ र साना वजार भित्र सिर्जना गरेको आर्थिक गतिविधि हो । पार्कमा आउने पर्यटकले टिकट मात्र काट्दैनन् । होटलमा बस्छन्, चिया खान्छन्, स्थानीय खाना अर्डर गर्छन्, सवारी प्रयोग गर्छन्, स्थानीय उत्पादन किन्छन्, फोटो खिच्छन्, स्मृति चिन्ह किन्छन् । त्यो खर्च स्थानीय स्तरमै घुमिरहन्छ । अर्थशास्त्रमा यसलाई पर्यटनको गुणक प्रभाव (Multiplier Effect) भनिन्छ । एउटा पर्यटकले खर्च गरेको एक हजार रुपैयाँले धेरै मानिसको आम्दानी बढाउँछ ।

यही कारण संसारका धेरै देशले पर्यटनलाई उद्योगको रूपमा विकास गरेका छन् । स्विट्जरल्याण्डले हिमाललाई, जापानले संस्कृति र परम्परालाई, भुटानले मौलिक जीवन शैलीलाई, न्यूजिल्याण्डले प्रकृतिलाई र इन्डोनोसियाको बालीले स्थानीय संस्कृतिलाई पर्यटन सँग जोडेर अर्थतन्त्र बलियो बनाएका छन् । नेपाल सँग यी सबै पक्ष छन् । तर तिनलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने काम अझै हुन सकेको छैन् । चोत्लुङ पार्कले विश्वका यस्तै सफल प्रयास मध्ये एक बन्ने सम्भावना बोकेको छ ।
बसन्तपुर तीनजुरे–मिल्के–जलजले क्षेत्रको प्रवेशद्वार हो । गुराँसका जंगल, चिसो मौसम, हिमाली दृश्य, पदयात्रा, धार्मिक तथा सांस्कृतिक सम्पदा सबै यही क्षेत्रसँग जोडिएका छन् । यदि चोत्लुङ पार्कलाई यी सम्पदा सँग एकीकृत गर्न सकियो भने बसन्तपुरमा पर्यटकको बसाइ अवधि वढाउन सकिन्छ । अहिले यहाँ सम्म आएका धेरै पर्यटक केही घण्टा बिताएर फर्किन्छन् । तर स्थानीय संस्कृति, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाको अनुभव, पदयात्रा र कृषि पर्यटनलाई जोड्न सकियो भने उनीहरू एक वा दुई रात बस्न सक्छन् । यही बसाइले स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउँन सक्छ । यही संभावना देखेर नगरपालिकाले ‘नगरको खुशी, रैथाने कृषि’ नारा दिएर अर्गानीक कृषि अभियान नै संचालन गरेको नगर प्रमुख माबोहाङले वताउनु भयो ।

विश्वभर अहिले अनुभव मूलक पर्यटन (Experiential Tourism) लोकप्रिय बन्दै गएको छ । पर्यटक केवल हेर्न होइन, अनुभव गर्न चाहन्छन् । उनीहरू स्थानीय सँगै खाना पकाउन, खेतमा काम गर्न, गाउँको जीवन बुझ्न, लोकगीत सुन्न र स्थानीय संस्कृतिमा सहभागी हुन रुचाउँछन् । बसन्तपुरमा यसको प्रशस्त सम्भावना छ । लिम्बु समुदायको परम्परागत खानपान, नृत्य, भेषभूसा, मुन्धुम सँग सम्बन्धित सांस्कृतिक प्रस्तुति, स्थानीय कृषि प्रणाली र गुराँसको प्राकृतिक वातावरणलाई एउटै प्याकेजमा विकास गर्न सकियो भने चोत्लुङ पार्कको आकर्षण अझ बढ्नेछ ।
यस्ता गतिविधीले युवाहरुलाई गाउँमै अवसर दिन सक्छ । अहिले धेरै युवा रोजगारीका लागि विदेश गइरहेका छन् । यदि पर्यटन क्षेत्रको विस्तार भयो भने स्थानीय गाइड, होटल तथा होमस्टे सञ्चालक, हस्तकला व्यवसायी, कृषि उद्यमी, फोटोग्राफर, सांस्कृतिक प्रस्तोता, स्थानीय यातायात व्यवसायी लगायत सयौँ युवाले आफ्नै ठाउँमा आम्दानी गर्न सक्छन् । पर्यटनको सबैभन्दा ठूलो शक्ति नै यही हो । यसले ठूलो उद्योग नखोली पनि धेरै मानिसलाई रोजगारी दिन सक्छ ।
तर पर्यटनको विकास सँगै चुनौती पनि आउँछन् । धेरै पर्यटक आउँदा फोहोर बढ्न सक्छ, संस्कृति व्यापारिक वस्तु बन्न सक्छ, मौलिकता हराउन सक्छ । त्यसैले चोत्लुङ पार्कको विकासलाई दिगो बनाउन वातावरण संरक्षण, सरसफाइ, स्थानीय समुदायको नेतृत्व, सांस्कृतिक मर्यादाको संरक्षण र योजनाबद्ध व्यवस्थापन अनिवार्य हुन्छ । यदि यी पक्षलाई बेवास्ता गरियो भने अहिलेको आकर्षण केही वर्षमै घट्न पनि सक्छ ।

लालीगुराँस नगरपालिकाले अहिले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको सभ्यतालाई विकास सँग जोड्ने सोच हो । नेपालका धेरै ठाउँमा विकासको अर्थ सडक र भवन निर्माण मात्र मान्ने प्रवृत्ति अझै छ । तर चोत्लुङ पार्कले संस्कृति पनि विकासको आधार हुन सक्छ भन्ने प्रमाणित गरेर देखाएको छ । संस्कृति जोगाउनु केवल भावनात्मक विषय होइन, त्यो आर्थिक रूपमा पनि उपयोगी हुन सक्छ भन्ने बुझाइ यही पार्क बाट सुरु भएको छ ।
नेपालका अन्य स्थानीय तहका लागि पनि यो एउटा पाठ हुन सक्छ । प्रत्येक गाउँ र शहर सँग कुनै न कुनै मौलिक सम्पदा छ । कतै मगर संस्कृति छ, कतै गुरुङ बस्ती, कतै राईको इतिहास, कतै थारू सभ्यता, कतै पुराना दरबार, कतै लोककला, कतै धार्मिक आस्था । यी सम्पदालाई संरक्षण गर्दै पर्यटन सँग जोड्न सकियो भने स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिन्छ । सबै ठाउँमा ठूलो लगानी आवश्यक पर्दैन, आवश्यक पर्छ स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजना ।

चोत्लुङ पार्कको सफलताले एउटा कुरा स्पष्ट पारेको छ—पर्यटन भनेको केवल घुम्ने उद्योग मात्र होइन, यो संस्कृति जोगाउने, पहिचान संरक्षण गर्ने, युवालाई गाउँमै अवसर दिने, किसानको उत्पादनको बजार विस्तार गर्ने र स्थानीय सरकारलाई आत्मनिर्भर बनाउने माध्यम पनि हो । यही कारण अहिले संसारभर दिगो पर्यटनलाई विकासको महत्वपूर्ण आधार मान्न थालिएको छ ।
नगर प्रमुख माबोहाङको सोचका कारण बसन्तपुर छेउको नागी चौरले आज एउटा नयाँ इतिहास लेखिदिएको छ । कुनै समय गाउँका पशुपालक किसानले गाईवस्तु चराउने साधारण चौर आज लिम्बु सभ्यताको परिचय गराउने जीवित संग्रहालय बनेको छ । यहाँ आउने पर्यटकले फोटो मात्र लिएर फर्कँदैनन्, एउटा समुदायको इतिहास सँग पनि परिचित भएर फर्किन्छन् । यही अनुभवले उनीहरूलाई फेरि फर्किन प्रेरित गर्छ ।
भविष्यमा यदि चोत्लुङ पार्कलाई तीनजुरे–मिल्के–जलजले क्षेत्र, गुराँस पर्यटन, होमस्टे, स्थानीय कृषि, सांस्कृतिक महोत्सव र डिजिटल प्रचार सँग अझ प्रभावकारी रूपमा जोड्न सकियो भने यो केवल तेह्रथुमको मात्र होइन, नेपालकै नमुना सांस्कृतिक पर्यटकीय गन्तव्य बन्न सक्छ ।

अन्तत : चोत्लुङ पार्कको कथा एउटा पार्क निर्माणको कथा मात्र होइन । यो दूरदर्शी नेतृत्व, स्थानीय समुदायको सहभागिता, सांस्कृतिक सम्पदा प्रतिको सम्मान र विकास प्रतिको नयाँ सोचको कथा पनि हो । नागीको चौरलाई पर्यटनको केन्द्र बनाउने यो यात्रा नेपालका अन्य स्थानीय तहका लागि प्रेरणा बन्न सक्छ । किनभने विकास सधैं नयाँ कुरा खोजेर मात्र हुँदैन, कहिलेकाहीँ आफ्नै इतिहास, आफ्नै संस्कृति र आफ्नै पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्न सके पनि समृद्धिको ढोका खुल्न सक्छ । चोत्लुङ पार्कले यही सम्भावना प्रमाणित गरे जस्तो लाग्छ ।