काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकले दैनिक गर्ने खर्च घट्दै गएको पाईएको छ । उनीहरुको बसाई अवधि वढेपनि उनीहरुले गर्ने खर्च भने घट्दै गएको हो । सरकारी तथ्यांकले धेरै खर्च गर्ने पर्यटक आकर्षित गर्न नसकिएको यथार्थलाई उजागर गरेको छ।
सरकारी तथ्यांक अनुसार सन् २०२५ मा विदेशी पर्यटकको औसत बसाइ १६.३४ दिन पुगेको थियो, जुन अहिले सम्मकै उच्च हो। तर उनीहरूको औसत दैनिक खर्च ३३.०९ अमेरिकी डलरमा सीमित रहेको छ। यो इतिहासकै दोस्रो न्यून खर्च स्तर हो । दक्षिण एसियाली क्षेत्रमा पर्यटकको औसत दैनिक खर्च १००–१५० डलर छ ।
यो तथ्यांकले नेपालको पर्यटन क्षेत्रमा बढ्दो असन्तुलन देखाएको छ । पदयात्रा, हिमाल आरोहण र मनोरञ्जनात्मक भ्रमणका कारण पर्यटक लामो समय बस्न थाले पनि त्यसलाई उच्च पर्यटकीय आम्दानीमा रूपान्तरण गर्न नसकिएको पर्यटन व्यवसायीहरुको भनाइ छ।
पर्यटन मन्त्रालयका अनुसार सन् २००३ मा पर्यटकको दैनिक औसत खर्च ७९.१ डलरसम्म पुगेको थियो। त्यसयता खर्च लगातार घट्दै आएको छ। पर्यटन मन्त्रालयले सन् २०२५ देखि पर्यटकको बसाइ अवधि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली मार्फत गणना गर्न थालिएकोले तथ्यांक अझ विश्वसनीय बनेको जनाएको छ।
मन्त्रालयका अनुसार पर्यटकले नेपालका प्राकृतिक र सांस्कृतिक गन्तव्य अवलोकनमा बढी समय खर्चिन थालेका छन्। पर्यटन सेवा सुधार र प्रवर्द्धन प्रभावकारी भएकाले बसाइ अवधि बढेको मन्त्रालयको दावी छ । सामान्यतः लामो बसाइलाई सकारात्मक मानिन्छ, किनकि त्यसले आवास, खाना, यातायात र विभिन्न गतिविधिमा पर्यटकले बढी खर्च गर्छन भन्ने अपेक्षा गरिन्छ।
तर होटल व्यवसायीहरूका अनुसार त्यसअनुसार आर्थिक लाभ भने प्राप्त हुन सकिरहेको छैन।