कावासोती (पूर्वी नवलपरासी) । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरभित्रका सार्वजनिक भित्ताहरूलाई आकर्षक चित्रकला (वाल पेन्टिङ) मार्फत सजाउँदै संस्कृति, प्रकृति र पर्यटनलाई एकैसाथ जोड्ने नयाँ अभियान सुरु गरेको छ ।
नगरपालिकाको बजेटमा निर्माण गरिएका यी कलात्मक भित्ताचित्रहरूले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखेका छन् । पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक भित्तामा स्थानीय संस्कृति र प्रकृति सम्पदा झल्किने चित्रहरू कोर्ने कार्यलाई नौलो र सिर्जनात्मक पहलका रूपमा हेरिएको छ ।

नगरपालिकाले पर्यटकीय क्षेत्र, सार्वजनिक स्थल तथा सडक किनारका पर्खालहरूमा चितुवा, बाघ, गैंडा, हात्ती, मृग, मगर गोही, मयुर, गिद्ध लगायतका वन्यजन्तु, जलचर र चराचुरुङ्गीका जीवन्त चित्रहरू कोरिएको छ । त्यति मात्र होइन, स्थानीय जनजीवन, ग्रामीण संस्कृति, नदी किनारमा माछा समात्ने दृश्य, धार्मिक मठमन्दिर, सामाजिक संस्कार तथा प्राकृतिक वातावरण झल्किने चित्रहरूले नगरको मौलिक पहिचानलाई जीवन्त बनाएका छन् ।

पर्यटकहरू कुनै स्थानमा पुग्दा त्यहाँको पहिलो छाप दृश्य सौन्दर्यले नै पार्ने भएकाले यस्ता कलात्मक भित्ताचित्रले नगरको सौन्दर्य अभिवृद्धि मात्र नगरी पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुर्याउने नगर प्रमुख बिष्णु प्रसाद भुषालले वताउनु भयो । अहिले सामाजिक सञ्जालको युगमा आकर्षक स्थानमा पुगेर तस्बिर तथा भिडियो खिच्ने चलन बढ्दै गएकाले यस्ता वाल पेन्टिङहरू आफैंमा ‘फोटो स्पट’ बन्ने अपेक्षा नगरपालिकाले गरेको छ । यो कार्य बाट नगरको प्रचार–प्रसार स्वत : हुने र आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने नगर प्रमुख भुषालको भनाई छ ।

भित्ताचित्रमा विशेषगरी चितवन–नवलपुर क्षेत्रको जैविक विविधतालाई प्राथमिकतामा राखिएको छ । चितुवा, बाघ, एकसिङ्गे गैंडा, हात्ती, नारायणी नदीमा पाईने मगर गोही, मयुर, गिद्ध लगायतका दुर्लभ वन्यजन्तुका चित्रहरूले संरक्षणको सन्देश पनि प्रवाह गरेको छ । वन्यजन्तु सँगै ग्रामीण महिलाले नदीमा माछा समातिरहेको दृश्य, धार्मिक आस्थाको केन्द्र, स्थानीय संस्कृति र सामाजिक जीवन झल्किने चित्रहरूले नयाँ पुस्तालाई आफ्नै मौलिक पहिचान सँग परिचित गराउने माध्यम समेत बनेको छ ।

नगर प्रमुख भुषालका अनुसार नगरपालिकाले विकास भनेको केवल सडक, भवन र पूर्वाधार निर्माण मात्र नभई स्थानीय संस्कृति, इतिहास र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन पनि हो भन्ने सोचका साथ यो अभियान सुरु गरेको हो । ‘हाम्रो नगरमा रहेका प्राकृतिक, धार्मिक सम्पदा र सांस्कृतिक विविधतालाई एउटै स्थानमा कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं’ मेयर भुषालले भन्नुभयो ‘यसले नगरको सुन्दरता बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुग्ने विश्वास हामीले लिएका छौं ।’

स्थानीयवासीले पनि नगरपालिकाको यो अभियानलाई सकारात्मक रूपमा लिएका छन । सार्वजनिक स्थानका जीर्ण र रङ्गहीन पर्खालहरू अहिले आकर्षक कलाकृतिमा परिणत भएपछि नगरको वातावरण नै फेरिएको उनीहरूको भनाइ छ । यसले कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर समेत प्रदान गरेको छ ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार अहिले विश्वका धेरै सहरहरूले ‘स्ट्रीट आर्ट’ र ‘वाल आर्ट’ लाई पर्यटनको महत्वपूर्ण आकर्षणका रूपमा विकास गरिरहेका छन् । नेपालमा पनि यस्ता सिर्जनात्मक अभ्यासले नगरको पहिचान निर्माण, पर्यटकको बसाइ अवधि बढाउने, स्थानीय व्यवसाय प्रवद्र्धन गर्ने र पर्यटन मार्फत रोजगारी सिर्जना गर्न सहयोग पुग्ने नगर प्रमुख भुषालले वताउनु भयो ।

विशेष गरी कावासोती आसपासका धार्मिक स्थल, सामुदायिक वन, प्राकृतिक क्षेत्र तथा पर्यटकीय गन्तव्य सँग यी भित्ताचित्रहरू जोडिँदा नगरको समग्र पर्यटन ब्रान्डिङमा थप टेवा पुग्नेछ । आकर्षक चित्रकला, सफा वातावरण र मौलिक पहिचानको संयोजनले कावासोतीलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ ।

नगरपालिकाको यो अभियानले सार्वजनिक संरचनालाई केवल पर्खालमा सीमित नराखी खुला कला सङ्ग्रहालय (ओपन आर्ट ग्यालरी) मा रूपान्तरण गरेको छ । प्रकृति संरक्षण, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एउटै अभियानमा समेट्ने कावासोती नगरपालिकको यो प्रयास अन्य स्थानीय तहका लागि पनि सिकाईको थलो बन्न सक्छ ।