नेपाल प्राकृतिक सम्पदाले धनी देश हो । हिमाल, पहाड, नदी, झरना, तालतलैया, जैविक विविधता र हरियाली वन जंगल नेपालको प्रमुख पहिचान हुन् । विश्वका धेरै मुलुकले औद्योगिक विकासलाई अर्थतन्त्रको मेरुदण्ड बनाएका छन् भने नेपाल जस्तो पहाडी देशका लागि प्रकृतिमा आधारित पर्यटन नै दिगो आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम बन्न सक्छ ।


विशेषगरी पहाडी क्षेत्रका वनजंगल, सामुदायिक वन, संरक्षण क्षेत्र र प्राकृतिक पदमार्गहरूलाई पर्यटन सँग जोड्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्ने विज्ञहरूको निष्कर्ष छ । नेपालमा हाल कुल भूभागको ४६ प्रतिशतभन्दा बढी क्षेत्र वन तथा झाडीले ढाकिएको छ । सामुदायिक वन उपभोक्ता समूहहरूले मात्रै करिब २५ लाख हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेका छन् । वन संरक्षणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गरेको छ ।
यही वन सम्पदालाई पर्यटन सँग जोड्न सकिए नेपालको पहाडी अर्थतन्त्रमा नयाँ सम्भावनाको ढोका अवस्य खुल्ने देखिन्छ ।
जंगल पर्यटन भनेको के हो ?
जंगल पर्यटन अथवा प्रकृतिमा आधारित पर्यटन भनेको वन, जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी, प्राकृतिक दृश्य, पदयात्रा, क्याम्पिङ, वन भ्रमण, होमस्टे तथा स्थानीय संस्कृति अवलोकन जस्ता गतिविधि मार्फत सञ्चालन हुने पर्यटन हो ।
विश्वभरि पछिल्ला वर्षहरूमा मानिसहरू भीडभाडयुक्त शहरभन्दा शान्त, स्वच्छ र प्राकृतिक वातावरण तर्फ आकर्षित हुन थालेका छन् । नेपालका पहाडी वन क्षेत्रहरूले यस्ता पर्यटकलाई आकर्षित गर्ने पर्याप्त सम्भावना बोकेका छन् ।
नेपालको मध्यपहाडी भूभाग जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । पूर्वको तीनजुरे–मिल्के–जलजले, इलामका वन क्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, लमजुङ, गोरखा, म्याग्दी, पर्वत, स्याङ्जा, कास्की, रुकुम तथा जाजरकोट लगायतका क्षेत्र प्राकृतिक पर्यटनका लागि उपयुक्त मानिन्छन् ।
यी वन क्षेत्रमा दुर्लभ वनस्पति, लालीगुराँसका जंगल, चराचुरुङ्गी अवलोकन, वन्यजन्तु, हिमाली दृश्यावलोकन, कुहिरो पदयात्रा, स्थानीय संस्कृति र परम्परा, जैविक कृषि तथा वनजन्य उत्पादन जस्ता विशेषता छन् । यी सबै पक्षलाई पर्यटन सँग जोड्न सके पहाडी क्षेत्रका बासिन्दाले आफ्नै गाउँमै रोजगारी सिर्जना गर्न सक्ने बलीयो संभावना छ ।
पहिले पहिले वन संरक्षणलाई विकासको बाधक मान्ने गरिन्थ्यो । तर अहिले वन संरक्षण र आर्थिक विकास एकअर्काका परिपूरक हुन् भन्ने तथ्य स्थापित भइसकेको छ । पश्चिम नेपालको घान्द्रुक क्षेत्रमा गरिएको अध्ययनले वन र पर्यटनले स्थानीयको जीविकोपार्जन तथा सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको देखाएको छ ।
पर्यटकहरू प्राकृतिक वातावरण हेर्न आउने भएकाले वन संरक्षण भएमा मात्रै पर्यटन टिकाउ हुन सक्छ । त्यसैले पर्यटनले वन संरक्षणलाई आर्थिक मूल्य दिएको छ ।
सामुदायिक वन : पर्यटन विकासको आधार
समुदायको सक्रियतामा संरक्षण भएको नेपालको सामुदायिक वन कार्यक्रम विश्वमै सफल कार्यक्रम मध्ये एक मानिन्छ । स्थानीय समुदायलाई वनको व्यवस्थापन अधिकार दिइएपछि वन क्षेत्र उल्लेखनीय रूपमा बढेको छ ।
सामुदायिक वनले पर्यटन विकासमा जंगल पदमार्ग निर्माण, दृश्यावलोकन स्थल विकास, वनभोज तथा विश्रामस्थल, चराचुरुङ्गी अवलोकन केन्द्र, होमस्टे सञ्चालन, स्थानीय गाइड परिचान, वनजन्य उत्पादनको बजारीकरण जस्ता बिषयमा महत्वपुर्ण भुमिका खेल्न सक्छन् ।
मोरङको बेतना सिमसार सामुदायिक वनमा गरिएको अध्ययनले पर्यटन बाट प्राप्त आम्दानीले वन व्यवस्थापन, रोजगारी सिर्जना तथा स्थानीय जीविकोपार्जनमा योगदान पुर्याएको देखाएको छ । पहाडी जिल्लाहरूमा युवाहरूको वैदेशिक रोजगारी प्रतिको आकर्षण बढिरहेको छ ।
खेतीयोग्य जमिन बाँझो हुने क्रम पनि बढेको छ । यस्तो अवस्थामा जंगल पर्यटनले वैकल्पिक आर्थिक अवसर दिन सक्छ । गाउँमै पर्यटन विकास भएपछि होमस्टे सञ्चालन भएका छन् । स्थानीय कृषि उत्पादन बिक्री वढेको छ भने स्थानीय हस्तकलाको प्रवद्र्धनमा समेत सहयोग पुगेको छ ।
यातायात सेवा वढेका कारण स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसाय पनि वढेको छ । स्थानीय स्तरमै विभिन्न प्रकारका रोजगारी सृजना भएका छन् । वनमा आधारित उद्यम तथा पर्यटनले स्थानीय स्तरमा आम्दानी र रोजगारी सिर्जना गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
तीनजुरे–मिल्के–जलजलेको सम्भावना
वहुप्रजातीका गुराँस पाईने तीनजुरे–मिल्के–जलजले क्षेत्र जंगल पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । विश्वकै ठूलो प्राकृतिक गुराँस क्षेत्रका रूपमा चिनिने टिएमजे क्षेत्रमा ३२ भन्दा बढी प्रजातिका गुराँस, सयौँ प्रजातिका चराचुरुङ्गी, दुर्लभ वनस्पति, हिमाली दृश्य, कुहिरो अर्थात हुस्सु पदयात्रा, जैविक कृषि, स्थानीय संस्कृति जस्ता आकर्षणहरू छन् ।
यदि व्यवस्थित पदमार्ग, होमस्टे, सूचना केन्द्र, गाइड सेवा र प्रचार प्रसार गर्न सकिए टिएमजे नेपालको प्रमुख जंगल पर्यटन गन्तव्य बन्न सक्छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमपात घट्दै गएको तथा मौसमीय जोखिम बढ्दै गएको बेला वन पर्यटन तुलनात्मक रूपमा दिगो विकल्पका रूपमा देखिएको छ ।
स्वस्थ वनले कार्बन सञ्चित गर्ने र पानीका मुहान सुक्न बाटा जोगाउने काम गर्छ । भूक्षय नियन्त्रण गरी जैविक विविधता संरक्षणमा समेत सहयोग गर्दै पर्यटनको आधार समेत सुरक्षित राख्ने काम गर्छ ।
जंगल पर्यटनमा के कस्ता चुनौती छन् ?
सम्भावना धेरै भए पनि जंगल पर्यटन विकासका लागि चुनौती पनि त्यतीकै छन् । धेरै वन क्षेत्र सम्म पुग्ने सडक, पदमार्ग, शौचालय, खानेपानी र सूचना केन्द्रको अभाव छ ।
धेरै सम्भावनायुक्त गन्तव्य अझै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनिन सकेका छैनन् । जसले गर्दा पर्यटकलाई यस्ता गन्तव्यका बारेमा जानकारी नै छैन् । गाइड, आतिथ्यता व्यवस्थापन तथा पर्यटन व्यवसाय सम्बन्धी दक्ष जनशक्ति कम छन् । अव्यवस्थित पर्यटनले वन्यजन्तु र वातावरणमा असर पुर्याउने जोखीम छ । वन, पर्यटन र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन सकेका छैनन् ।
जंगल पर्यटनलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राख्न ढिला गर्नुहुन्न । यसका लागि सामुदायिक वनलाई पर्यटन व्यवसाय सँग जोड्नु पर्छ । पर्यटक मैत्री होमस्टे विस्तार, पदमार्ग विकास तथा निर्माण, चराचुरुङ्गी पर्यटन प्रवर्द्धन, निजी क्षेत्रको लगानी आकर्षित, स्थानीय युवालाई पर्यटन तालिम, डिजिटल माध्यमबाट प्रचारप्रसार, वन संरक्षण र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउने जस्ता कार्यक्रम तत्कालै संचालन गरीनुपर्छ ।
नेपालको पहाडी भूभागमा फैलिएका हरियाली वनजंगल केवल वातावरण संरक्षणका स्रोत मात्र होइनन्, आर्थिक समृद्धिका आधार पनि हुन् । सामुदायिक वन व्यवस्थापनको सफलताले वन क्षेत्र विस्तार भएको छ भने अब त्यसलाई पर्यटन सँग जोडेर ग्रामीण अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने अवसर आएको छ ।
यदि पहाडी क्षेत्रका जंगलहरूलाई योजनाबद्ध रूपमा पर्यटन गन्तव्यमा रूपान्तरण गर्न सकियो भने रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, स्थानीय उत्पादनको बजार विस्तार, जैविक विविधताको संरक्षण र राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय पुग्न सक्छ । त्यसैले जंगल पर्यटन केवल पर्यटनको नयाँ अवधारणा मात्र होइन, नेपालको समृद्धिको दिगो बाटो बन्न सक्ने भरपर्दो आधार पनि हो ।