तेह्रथुम । लालीगुराँस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड १० लाख ६६ हजार २ सय ६० रुपैयाँ बराबरको बजेट आईतवार नगरसभाबाट पारित गरेको छ।
बजेटमा नेपाल सरकार र कोशी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सशर्त, समपूरक र विशेष अनुदानलाई आयको मुख्य स्रोतका रूपमा समावेश गरिएको छ। व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १० करोड, नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४ करोड ८९ लाख २५ हजार २ सय ६० रुपैयाँ विनियोजन गरिएको छ।
-1783856698.jpg)
यस्तै सडक बोर्ड साझेदारी, खानेपानी आयोजना, कोल्ड स्टोरेज, पदमार्गमा आधारित पर्यटन प्रवर्द्धन, रोजगार कार्यक्रम, अपाङ्गता रोकथाम तथा पुनःस्थापना लगायत विभिन्न विकास तथा सामाजिक कार्यक्रमका लागि बजेट छुट्याइएको छ। प्रत्येक वडामा विकास निर्माणलाई निरन्तरता दिन वडागत बजेट समेत व्यवस्था गरिएको नगर प्रमुख अर्जुन माबोहाङले वताउनु भयो ।
कृषि उत्पादन वृद्धि, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको नगर प्रमुख माबोहाङले बताउनु भयो। सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै नगरवासीको जीवनस्तर सुधारमा बजेट केन्द्रित गरिएको उहाँको भनाइ थियो।
-1783856696.jpg)
नगरसभाकै अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत रविन कार्कीलाई १ लाख, लेखा अधिकृत जेनी राईलाई ५० हजार, सूचना प्रविधि अधिकृत संजय दाहाललाई ३० हजार, सहायक कम्प्युटर अपरेटर रमेश खडकालाई २५ हजार र असिस्टेन्ट सब–इन्जिनियर पदम भुजेललाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो। नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।