तेह्रथुम । पछिल्लो समय उपभोक्ताको रोजाइमा बोसो कम र रातो मासु बढी भएको बंगुरको मासु पर्न थालेपछि किसानले उत्पादन गरेका बंगुर बिक्री गर्न समस्या हुन थालेको छ । बजारको मागअनुसारको मासु उत्पादन गर्न नसक्दा किसान चिन्तित भइरहेका बेला धनकुटाको पाख्रीबासमा भने बंगुरको बोसो घटाएर रातो मासुको मात्रा बढाउने उपायको खोजी भइरहेको छ ।
पाख्रीबास कृषि अनुसन्धान केन्द्र अन्तर्गत सञ्चालित राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले विशेषगरी स्थानीय किसान माझ लोकप्रिय पाख्रीबास कालो जातको बंगुरमा बोसोको मात्रा घटाएर रातो मासुको उत्पादन बढाउने विषयमा अध्ययन गरिरहेको हो । अनुसन्धानकर्ताले बंगुरको जातसँगै आहार, उमेर, व्यवस्थापन र पालन प्रणालीले शरीरमा बोसो र मासुको विकासमा पार्ने प्रभावबारे समेत अध्ययन गरिरहेका छन् ।

राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमका संयोजक मनोजकुमार शाहका अनुसार बजारको माग र उपभोक्ताको रुचि अनुसार गुणस्तरीय मासु उत्पादन गर्नु अहिले बंगुरपालन क्षेत्रको प्रमुख चुनौती बनेको छ । यही चुनौतीलाई सम्बोधन गर्न कम बोसो र बढी रातो मासु उत्पादन गर्ने सम्भावनाको खोजी भइरहेको शाहले वताउनु भयो ।
‘बंगुरको मासुमा बोसोको मात्रा कम गरेर रातो मासुको प्रतिशत कसरी बढाउन सकिन्छ ? भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौं,’ शाहले भन्नुभयो, ‘यसमा जातीय गुणसँगै आहार र व्यवस्थापनको पनि महत्वपूर्ण भूमिका हुन्छ । किसानले बजारमा राम्रो मूल्य पाउने र उपभोक्ताले रुचाउने गुणस्तरीय मासु उत्पादन गर्न सक्ने प्रविधि विकास गर्नु हाम्रो उद्देश्य हो ।’

पाख्रीबास कालो बंगुर पूर्वी पहाडी क्षेत्रमा किसानले लामो समयदेखि पाल्दै आएको स्थानीय महत्वको जात हो । स्थानीय वातावरणमा अनुकूलन हुने र किसानले घरायसी तथा व्यावसायिक रूपमा पाल्दै आएको यो जातको मासुमा भने अन्य केही उन्नत जातको तुलनामा बोसो बढी हुने गरेको अनुसन्धानकर्ताको भनाइ छ । यही कारण बजारको बदलिँदो माग अनुसार यसको मासु बिक्रीमा समस्या आउन थालेको किसान बताउँछन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिका ४ चित्रेका किसान होमराज रायमाझीले बंगुरपालनमा उत्पादन मात्र बढाएर नहुने, बजारले खोजेको गुणस्तरमा पनि ध्यान दिनुपर्ने अवस्था आएको बताउनु भयो । दाना, औषधि, श्रम तथा खोर व्यवस्थापनमा खर्च बढ्दै गएको अवस्थामा बिक्रीका बेला मासुको गुणस्तरलाई लिएर ग्राहकले प्रश्न उठाउने गरेको उहाँको भनाइ छ ।

‘बंगुर पाल्दा खर्च धेरै हुन्छ । तर बिक्री गर्ने बेला बोसो बढी भयो भने ग्राहकले मूल्यमा कुरा गर्छन्,’ रायमाझीले भन्नुभयो, ‘अनुसन्धानबाट कम बोसो र राम्रो रातो मासु उत्पादन हुने उपाय पत्ता लाग्यो भने हामीजस्ता किसानलाई ठूलो सहयोग पुग्छ ।’ धनकुटाको महालक्ष्मी नगरपालिका–१ मा सुजल कृषि फार्म सञ्चालन गर्दै आउनु भएका किसान रामबहादुर पौडेलले पनि बजारमा रातो मासुको माग बढ्दै गएको बताउनु भयो । उहाँका अनुसार बंगुर पाल्ने किसानले पहिले तौल र संख्यालाई उत्पादनको मुख्य आधार मान्ने गरे पनि अहिले मासुको गुणस्तर र उपभोक्ताको रुचि पनि महत्वपूर्ण बन्न थालेको छ ।
‘किसानले बंगुरको तौल बढाएर मात्र बजारमा राम्रो मूल्य पाउने अवस्था छैन,’ पौडेलले भन्नुभयो, ‘मासुमा बोसो कति छ, उपभोक्ताले कस्तो मासु खोजिरहेका छन् भन्ने कुराले पनि मूल्य निर्धारणमा असर गर्न थालेको छ ।’ लालीगुराँस नगरपालिका ४ कै अर्का किसान खड्गबहादुर गुरुङका अनुसार बंगुरपालन ग्रामीण क्षेत्रका किसानका लागि आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । तर उत्पादन लागत बढ्दै जाँदा बजार सुनिश्चित नहुनु ठूलो समस्या भएको उहाँको भनाई छ ।
‘बंगुर पाल्न दाना र श्रमको खर्च बढिरहेको छ । रोगको जोखिम पनि हुन्छ,’ गुरुङले भन्नुभयो, ‘उत्पादन राम्रो भए पनि बजारमा राम्रो मूल्य नपाउँदा किसानलाई समस्या हुन्छ । त्यसैले अनुसन्धानबाट किसानलाई प्रत्यक्ष फाइदा पुग्ने प्रविधि आउनुपर्छ ।’

अनुसन्धान कार्यक्रमका अनुसार बंगुरको शरीरमा बोसो र मासुको विकासमा आनुवंशिक गुण, आहार, उमेर, तौल र पालन व्यवस्थापनको प्रभाव हुन्छ । त्यसैले एउटा पक्षमा मात्र परिवर्तन गरेर अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुन्छ । अनुसन्धानमा बंगुरको तौल वृद्धि, आहारको उपयोग, शरीरमा बोसोको मात्रा, मासुको गुणस्तर लगायत पक्षलाई आधार बनाइएको छ ।
अनुसन्धानकर्ताहरुले बढी रातो मासु उत्पादन गर्ने गुण भएका बंगुरको पहिचान गरी त्यस्ता गुणलाई आगामी पुस्तामा विकास गर्न सकिने सम्भावना समेत अध्ययन गरिरहेका छन् । त्यसका लागि विभिन्न जात तथा तिनका गुणको तुलना, आहार व्यवस्थापन र पालन प्रणालीको प्रभाव अध्ययन गर्ने काम भइरहेको अनुसन्धान कार्यक्रमले जनाएको छ ।

अनुसन्धानमा पाख्रीबास कालो, ड्युरोक, ल्यान्डरेस, ह्याम्पसायर, योर्कसायर लगायत बंगुरका जात तथा तिनका उत्पादन क्षमता सँग सम्बन्धित पक्षलाई समेत अध्ययनको आधार बनाइएको छ । विभिन्न जातमा मासुको गुण, वृद्धि दर तथा शरीरमा बोसो जम्मा हुने प्रवृत्तिमा फरक हुने भएकाले उपयुक्त गुण भएका बंगुरको पहिचानमा अनुसन्धान केन्द्रित गरिएको हो ।
अनुसन्धानकर्ताका अनुसार बंगुरलाई कस्तो आहार दिने, कति उमेरसम्म पाल्ने र कुन अवस्थामा बिक्री गर्ने भन्ने कुराले पनि मासुको गुणस्तरमा असर पार्न सक्छ । त्यसैले किसानलाई वैज्ञानिक ढंगको आहार तथा व्यवस्थापन प्रविधि उपलब्ध गराउन सके उत्पादन लागत घटाउन र गुणस्तरीय मासु उत्पादन गर्न सहयोग पुग्नेछ ।

नेपालमा व्यावसायिक बंगुरपालन विस्तार हुँदै गए पनि किसानले अझै धेरै चुनौती सामना गरिरहेका छन् । दानाको मूल्य वृद्धि, रोग तथा उपचार खर्च, प्रजनन व्यवस्थापन, बजारको अस्थिरता र बिक्रीका समयमा उचित मूल्य नपाउने समस्या किसानले भोग्दै आएका छन् । त्यसमा मासुको गुणस्तर र उपभोक्ताको बदलिँदो रुचि थपिएको छ ।
अनुसन्धान बाट कम बोसो र बढी रातो मासु उत्पादन गर्ने गुण भएका बंगुरको पहिचान गर्न सकिए स्थानीय जातको नश्ल सुधार तथा प्रजनन कार्यक्रममा त्यसलाई प्रयोग गर्न सकिने अनुसन्धानकर्ताको अपेक्षा छ । यसबाट स्थानीय पाख्रीबास कालो बंगुरको मौलिकता जोगाउँदै बजारको मागअनुसार उत्पादन क्षमता सुधार गर्न सकिने सम्भावना देखिएको छ । किसानका लागि भने अनुसन्धानको नतिजा प्रयोगमा आउनु अझ महत्वपूर्ण छ । अनुसन्धान केन्द्रमा प्राप्त ज्ञान तथा प्रविधि किसानको खोरसम्म पुग्न सके मात्र त्यसको वास्तविक लाभ प्राप्त हुने उनीहरू बताउँछन् ।

तेह्रथुमका किसान रायमाझी र गुरुङ तथा धनकुटाका पौडेल जस्ता किसानले अनुसन्धान बाट निस्कने प्रविधि व्यावहारिक र किसान मैत्री हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार किसानले सहज रूपमा अपनाउन सक्ने आहार व्यवस्थापन, प्रजनन तथा पालन सम्बन्धी प्रविधि विकास भए उत्पादन लागत घटाउन र बजारको माग अनुसारको मासु उत्पादन गर्न सकिन्छ ।
बंगुरको बोसो घटाएर रातो मासुको मात्रा बढाउने अनुसन्धान सफल भए यसको प्रभाव किसानको खोरदेखि बजार सम्म पुग्नेछ । उपभोक्ताले रुचाएको गुणस्तरको मासु उत्पादन सँगै स्थानीय जातको संरक्षण, नश्ल सुधार र व्यावसायिक बंगुरपालनलाई समेत यसले नयाँ आधार दिन सक्नेछ ।

पाख्रीबासमा भइरहेको अध्ययन त्यसैले बंगुरको बोसो घटाउने एउटा अनुसन्धानमा मात्र सीमित छैन । स्थानीय जातको उत्पादन क्षमता र गुणस्तर सुधार गर्दै किसानको उत्पादनलाई बजारको मागसँग जोड्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।
अनुसन्धानको नतिजा व्यवहारमा लागू गर्न सकिए पूर्वी पहाडी क्षेत्रका किसानका लागि बंगुरपालन थप व्यावसायिक र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।