तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर आतङक वढी भएका तल्लो क्षेत्रका सामुदायिक वन क्षेत्रमा फलफुलका विरुवा रोपण गरेको छ । किसानका खेतबारीमा बाँदर आतङक रोक्ने, कृषि, वन संरक्षण र पर्यटनलाई एकसाथ जोड्ने उद्देश्य सहित नगरका विभिन्न क्षेत्रका सामुदायिक वनमा ५ हजार ५ सय फलफूलका बिरुवा रोपण गरीएको हो ।
सामुदायिक वनमा आवद्ध उपभोक्ता मार्फत तल्लो भेगका बाँदर आतङ्क बढी भएका वन क्षेत्रमा आँप, लिची र एभोकाडोका बिरुवा रोपीएको नगर प्रमुख अर्जन माबोहाङले वताउनु भयो ।
किसानले खेतीपातीमा भोग्दै आएको बाँदरको समस्यालाई न्यूनीकरण गर्दै वन क्षेत्रलाई हरियाली बनाउने र स्थानीयको आयआर्जन बढाउने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको नगर प्रमुख माबोहाङले वताउनु भयो । जंगलमै फलफूलका बिरुवा हुर्किएपछि बाँदरले त्यहीँबाट आहारा पाउने र किसानले लगाएका अन्नबालीमा हुने क्षति घट्ने अपेक्षा नगरपालिकाको छ ।


त्यसैगरी, नगरको माथिल्लो क्षेत्रमा रहेका खाली सार्वजनिक जग्गामा मुस्ताङबाट स्याउका विरुवा ल्याएर रोपिएको छ। उच्च पहाडी भू–भागको हावापानीलाई मध्यनजर गर्दै स्याउ खेती विस्तारको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ। सडकले छोएका माथिल्लो क्षेत्रका सार्वजनीक जमिनमा १ हजार ७ सय ५३ वटा स्याउ र ओखरका विरुवा रोपीएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

चिसो हावापानी भएको लेकाली क्षेत्रमा फलफुल उत्पादन वृद्धि गर्ने, वातावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत गर्ने सोचका साथ कार्यक्रम सञ्चालन गरीएको नगरपालिकाले जनाएको छ । फलफूल रोपणले भविष्यमा नगरको कृषि अर्थतन्त्रलाई थप मजबुत बनाउने मात्र नभई एग्रो टुरिजम (कृषि पर्यटन) को विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने नगर प्रमुख माबोहाङको भनाई छ ।
‘वन क्षेत्रमा फलफूलका बिरुवा रोप्दा हरियाली बढ्छ, स्थानीयले फलफूल बिक्री गरेर आम्दानी गर्न सक्छन् र बाँदरले जंगलमै आहारा पाएपछि खेतीबालीमा हुने क्षति पनि कम हुन्छ’ नगर प्रमुख माबोहाङले भन्नुभयो।
नगरपालिकाले स्थानीय हावापानी अनुसारका व्यावसायिक फलफूल खेती विस्तार गर्दै कृषि उत्पादनलाई पर्यटन सँग जोड्ने योजना बनाएको नगरपालिका कृषि शाखाका कृषि प्राविधिक हिम वहादुर थापाले वताउनु भयो ।
फलफूलका विरुवा रोपेर बगैंचाको रुपमा विकाश भएपछि ती स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने लक्ष्य नगरपालिकाको छ।
यस अभियानले वन संरक्षण सँगै आयआर्जनका नयाँ अवसर सिर्जना हुने आशा स्थानीयको छ । बाँदर आतङको रोकथाम, कृषि, जैविक विविधता संरक्षण र पर्यटनलाई एउटै अभियान मार्फत अघि बढाउने लालीगुराँस नगरपालिकाको यो पहल अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्न सक्छ ।