तेह्रथुम । पुस्तकका पानामा सुरक्षित इतिहास समयसँगै पुरानो हुँदै जान सक्छ, तर भाषा, लिपि, कला र संस्कृतिमा पुस्तान्तरण हुँदै आएको इतिहास जीवन्त रहन्छ । यही ऐतिहासिक विरासत र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिका–३ स्थित चो?लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय तथा ग्यालरी ‘सिरिजङ्गा साप्ला’ स्थापना गरिएको छ ।
-1785228242.JPG)
विज्ञानालय तथा ग्यालरीको सोमबार इतिहासकार तथा पूर्व प्रशासक भगिराज इङ्नामले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सिरिजङ्गा लिपि, भाषा, इतिहास र संस्कृतिको संरक्षण तथा अध्ययनका लागि स्थापना गरिएको ग्यालरीमा सिरिजङ्गा लिपिको विकास र संरक्षणमा योगदान पुर्याएका विभिन्न ऐतिहासिक व्यक्तित्वहरूको जीवन वृत्तान्तलाई चित्र मार्फत प्रस्तुत गरिएको छ । ग्यालरीमा सिरिजङ्गा सिङ्थेबेको जीवन वृत्तान्त देखि पछिल्ला पुस्ता सम्म सिरिजङ्गा लिपिको संरक्षण र विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको इतिहास समेटिएको नगर प्रमुख अर्जुन माबोहाङले वताउनु भयो ।

ग्यालरीमा रुपिहाङ ताप्मादेन, जोभानसिं फागो वनेम, गुनमान पारघारी खजुम र लालसोर सेन्दाङ लगायतका व्यक्तित्वहरूको योगदानलाई समेटेर जम्मा १० वटा क्यानभासमा एक्रिलिक रङबाट तयार पारिएका चित्र राखिएका छन् । ती चित्रले सिरिजङ्गा लिपिको विकासक्रम र यससँग जोडिएका ऐतिहासिक व्यक्तित्व बारे नयाँ पुस्तालाई बुझ्न सहयोग पुर्याउने नगर प्रमुख माबोहाङको भनाई छ ।
भवन निर्माणमा ताप्लेजुङको सान्थाक्रामा जन्म भै हाल बेलायतमा बसोबास गर्दै आउनु भएका नरेश नाल्बो, आशा नाल्बो तथा उहाँहरूको परिवारका सदस्यहरुले सहयोग गर्नुभएको छ । ग्यालरी उद्घाटन कार्यक्रममा नेपाल सँगै छिमेकी मुलुक भारतका विभिन्न स्थान बाट भाषा, साहित्य, इतिहास र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएका व्यक्तित्वहरूको सहभागिता थियो ।

कार्यक्रममा आसाम साहित्य एकेडेमी पुरस्कारबाट विभूषित छत्रमान सुब्बा, सिक्किम विश्व विद्यालयका प्राध्यापक बल मुरिङ्ला, अल्पाइन विश्व विद्यालयका प्राध्यापक कर्णहाङ ताम्लिङ, नाम्ची विश्वविद्यालयका प्राध्यापक डा. सन्तोष ताम्लिङ, प्रशासक साइमन मुरिङ्ला, इतिहास लेखिका सन्ध्या सुब्बा, दार्जिलिङकी साहित्यकार अमला सुब्बा, दार्जिलिङ जिल्ला पुस्तकालयका अमृत इजम, सिलिगुडीकी पत्रकार बबिता मादेन, जलपाईगुडी लुक्सानका लिम्बू इतिहास, भाषा तथा संस्कृति अभियन्ता जेठा सुब्बा खुदाङ तथा कालिम्पोङका याक्थुङ सङ्चुम्भोका लवन र बबिद सुब्बा लगायतको उपस्थिति थियो ।
सिरिजङ्गा लिपि लिम्बू भाषा लेखनमा प्रयोग हुने महत्वपूर्ण लिपि हो । लिम्बू समुदायको भाषा, मौखिक परम्परा, मुन्धुम, इतिहास र सांस्कृतिक पहिचानलाई लिखित रूपमा संरक्षण गर्न यसको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । सिरिजङ्गा लिपिको संरक्षण र पुनर्जागरण सँग सिरिजङ्गा सिङ्थेबेको नाम जोडिएको छ ।

ऐतिहासिक स्रोतहरूमा सिरिजङ्गा लिपिको उत्पत्तिबारे विभिन्न मत पाइन्छन् । केही परम्परागत इतिहासमा यसको विकास प्राचीनकालमै भएको र पछि हराउँदै गएको उल्लेख छ भने आधुनिक अनुसन्धानमा अठारौँ शताब्दीमा ते–ओङ्सी सिरिजङ्गा सिङ्थेबेले यसको पुनःप्रयोग र प्रचारमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । लिपिको प्रारम्भिक उत्पत्तिबारे भने अझै थप अध्ययन र अनुसन्धान आवश्यक रहेको अध्येताहरुले वताउदै आएका छन् ।
-1785228199.JPG)
सिरिजङ्गा लिपिको विकासक्रममा विभिन्न पुस्ताका लेखक, इतिहासकार तथा अभियन्ताहरूले योगदान पुर्याउँदै आएका छन् । त्यसैले ग्यालरीमा राखिएका चित्रहरूले ती व्यक्तित्वको परिचय मात्र नभई एक पुस्ताबाट अर्को पुस्तामा भाषा, ज्ञान, इतिहास र सांस्कृतिक चेतना हस्तान्तरण हुँदै आएको यात्रालाई समेत अभिलेखीकरण गर्ने प्रयास गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथी ईङनामले भाषा, लिपि, इतिहास र सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता संस्थागत प्रयास महत्वपूर्ण हुने बताउनुभयो । इतिहास र संस्कृतिलाई केवल स्मृतिमा सीमित नराखी नयाँ पुस्ताले प्रत्यक्ष रूपमा हेर्न, पढ्न र बुझ्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाको जोड थियो । उहाँका अनुसार सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय तथा ग्यालरीले ऐतिहासिक दस्तावेज, पाण्डुलिपि, लिपि र चित्रकलाको संरक्षण सँगै अध्ययन तथा अनुसन्धानका लागि समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
ग्यालरीमा संरक्षित सामग्री र ऐतिहासिक चित्रहरूले अनुसन्धानकर्ता, विद्यार्थी, साहित्यकार, इतिहासकार तथा पर्यटकलाई सिरिजङ्गा लिपि र लिम्बू समुदायको भाषा तथा सांस्कृतिक इतिहासबारे जानकारी लिन सहयोग पुग्ने नगर प्रमुख माबोहाङले वताउनु भयो ।

सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय तथा ग्यालरी कुनै एउटा लिपि र समुदायको इतिहासलाई मात्र संग्रहित गर्ने थलो नभई, लोपोन्मुख हुँदै गएका भाषा, लिपि र सांस्कृतिक सम्पदाको संरक्षणका लागि समुदायस्तर बाट गरिएको मौलिक प्रयास हो । विश्वका विभिन्न मुलुकमा पाण्डुलिपि र लिपि संरक्षणका लागि संग्रहालय तथा अभिलेख केन्द्रहरू सञ्चालनमा रहे पनि सिरिजङ्गा लिपिको विकासक्रम, यसका प्रवर्तक तथा अभियन्ताहरूको योगदान र पाण्डुलिपिलाई एउटै थलोमा जोडेर प्रस्तुत गर्ने यस्तो अवधारणा भने यो नौलो हो ।
भाषा, लिपि र पाण्डुलिपिको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले विश्वका विभिन्न स्थानमा सङ्ग्रहालय र ग्यालरी स्थापना गरिएका छन् । फिलिपिन्सको राष्ट्रिय सङ्ग्रहालयमा रहेको …Baybayin GalleryÚ ले प्राचीन तथा परम्परागत लिपि, पुराना लिखित दस्तावेज र पुस्तकलाई प्रदर्शनीमा राखेको छ । भारतको ओडिशा स्टेट म्युजियममा हजारौँ ताडपत्र पाण्डुलिपि संरक्षण गरिएको छ ।

यसैगरी, बेलायतको British Library मा समेत सिरिजङ्गा सँग सम्बन्धित पुराना लिम्बू वर्णमाला पुस्तक तथा पाण्डुलिपि सुरक्षित रहेको अभिलेख छ । यस अर्थमा यहाँ स्थापना गरिएको सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय तथा ग्यालरी पनि भाषा, लिपि, पाण्डुलिपि र त्यसको इतिहासलाई एउटै थलोमा संरक्षण र प्रस्तुत गर्ने महत्वपूर्ण स्थानीय पहलका रूपमा हेरीएको छ ।