तेह्रथुम । सवारीसाधनमा हुने यान्त्रिक गडबडीका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रे सडक खण्डमा सवारी साधनको यान्त्रिक परीक्षण तथा प्राविधिक जाँच सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त आयोजनामा चित्रे बजारमा सवारी साधनको यान्त्रिक प्रणालीको चेकजाँच सुरु गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकुमार पण्डितका अनुसार सवारी साधनको प्राविधिक अवस्था परीक्षण गरी सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो । परीक्षणका क्रममा साना तथा ठूला सवारी साधनका ब्रेक, टायर, बत्ती, इन्जिन लगायत महत्वपूर्ण यान्त्रिक प्रणालीको अवस्था जाँच भइरहेको छ ।
तेह्रथुमको चित्रे सडक खण्ड पूर्वी पहाडी जिल्लालाई तराई र काठमाडौं सँग जोड्ने महत्वपूर्ण सडक हो । यो सडकखण्ड भएर तेह्रथुम सँगै ताप्लेजुङ, पाँचथर, संखुवासभा र धनकुटा बाट पूर्वी तराईतर्फ दैनिक ठूलो संख्यामा सवारी साधन आवतजावत गर्छन । पहाडी भू–भागमा सडकको अवस्था, घुम्ती तथा उकालो–ओरालोका कारण सवारी साधन सञ्चालनमा थप जोखिम हुने भएकाले नियमित प्राविधिक परीक्षण आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सवारी दुर्घटनाका विभिन्न कारण मध्ये सवारी साधनको यान्त्रिक खराबी पनि महत्वपूर्ण कारण हो । विशेषगरी लामो दूरीमा सञ्चालन हुने तथा पहाडी सडकमा गुड्ने सवारी साधनमा ब्रेक फेल हुने, टायर पञ्चर वा घिस्रिने, हेडलाइट तथा अन्य बत्तीमा समस्या आउने, इन्जिनमा खराबी देखिने जस्ता समस्या देखिन सक्छन् । यस्ता समस्या समयमै पहिचान हुन नसके सवारी चालकले नियन्त्रण गुमाउन सक्ने र गम्भीर दुर्घटना निम्तिन सक्ने जोखिम हुन्छ ।
सवारी साधनको यान्त्रिक परीक्षणले यस्ता सम्भावित जोखिम पहिल्यै पहिचान गर्न सहयोग पुर्याउने भएकाले दुर्घटना हुनुअघि नै आवश्यक मर्मत सम्भार गर्न सकिने प्रहरीको भनाइ छ । विशेष गरी ब्रेक, टायर र बत्तीको अवस्था परीक्षण गर्दा सवारी साधन सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने वा नसक्नेबारे तत्काल जानकारी प्राप्त हुन्छ । यसले चालकलाई आफ्नो सवारीसाधनको प्राविधिक अवस्थाप्रति थप जिम्मेवार बनाउनुका साथै सडकमा हुने सम्भावित दुर्घटना रोकथाममा समेत सहयोग पुग्ने अपेक्षा प्रहरी प्रशासनको छ ।

चित्रे सडक खण्ड चारवटा भन्दा बढी पहाडी जिल्लाबाट पूर्वी तराईतर्फ आवतजावत गर्ने सवारीसाधनको मुख्य मार्ग भएकाले यही क्षेत्रमा परीक्षण सुरु गरिएको प्रहरीले जनाएको छ । अभियानले सवारी साधनको नियमित मर्मत सम्भार गर्ने बानीको विकास सँगै चालक र सवारी धनीलाई सुरक्षित यात्राप्रति थप सचेत बनाउने प्रहरी नायव उपरिक्ष लक्ष्मण ओलीले वताउनु भयो ।
प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था नियमित रूपमा परीक्षण गर्न, समयमै मर्मत सम्भार गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न चालक र सवारीधनीलाई आग्रह गरेको छ ।