
तेह्रथुम । एक समय थियो, जब तेह्रथुमको बसन्तपुर बाट तीनजुरे, चौकी, मंगलवारे, गुफापोखरी हुंदै ताप्लेजुङको दोभान भएर कञ्चनजंघा आधार शिविर जाने पदमार्गमा विदेशी पर्यटकका लावालस्कर देखिन्थ्यो । यो पदमार्गमा यिनै विदेशी पर्यटकका बन्दोवस्ती, खाद्यान्न लगायतका सामान र झोला बोक्ने भरियाहरूको लाम पनि बाल्लै हुन्थ्यो ।
बिहानीको मिरमिरे उज्यालो संगै घाँटीमा झुन्ड्याइएका घण्टी बजाउदै उकालो चढ्ने खच्चड, चौंरी र गुराँसको जंगलमा फोटो खिच्दै अघि बढ्ने पर्यटक, स्थानीयका घरमा बास बस्ने ट्रेकर, अनि उनीहरूलाई सेवा दिने गाउँलेका यी सबै दृश्य यस क्षेत्रमा सामान्य जस्तो लाग्थ्यो ।
तर आज त्यही पदमार्गको धेरै भाग मोटर बाटोले ढाकेको छ । कतै सडकले पुरानो गोरेटो काटिदिएको छ त, कतै डोजरले पदमार्ग नै मेटाइदिएको छ । पहिले पर्यटक पैदल हिड्ने यो पदमार्गमा चर्को हर्न वजाउदै गाडी गुढीरहेका छन् । परिणाम स्वरूप पदयात्राको अनुभव हराउंदै गएको छ । सडक बने पनि पर्यटक वढेका छैनन् । बरु पदमार्ग संग जोडिएको स्थानीय अर्थतन्त्र कमजोर बन्दै गएको स्थानीयको गुनासो छ ।

तेह्रथुमको बसन्तपुर बजार बाट बिहानको चिसो हावा चिर्दै गुराँसको जंगल तर्फ उकालो लाग्ने विदेशी पर्यटकको लर्को हिजो आज देखिदैन । कसैको काँधमा ठूलो ब्याकप्याक हुन्थ्यो, कसैले क्यामेरा बोकेका हुन्थे । कसैले स्थानीय भरिया संग कुरा गर्दै स्थानीय संस्कृति बुझ्ने प्रयास गरिरहेको देखिन्थ्यो । उनीहरूको यात्रा तीनजुरे–मिल्के–जलजले (टिएमजे) हुंदै ताप्लेजुङको कञ्चनजंघा आधार शिविर सम्म पुग्थ्यो ।
यसरी पैदलै यात्रा गर्दा बाटोभरि गुराँसका वन, हुस्सु र कुहिरोले ढाकिएका डाँडाहरू, चराचुरुङ्गीको चिरबिराहट, स्थानीयको आत्मीय आतिथ्य र पारीपटी देखीने हिमाली दृश्यले उनीहरूलाई मन्त्रमुग्ध बनाउँथ्यो । पर्यटकले आज यस्तो अनुभव लिन पाउदैनन् । पदमार्गका धेरै खण्ड डोजरले काटेर मोटरबाटोमा परिणत भएका छन् । गोरेटो हराएको छ, पदयात्राको अनुभव हराएको छ, र त्यस संगै स्थानीय गाउँहरूको पर्यटन अर्थतन्त्र पनि बिस्तारै कमजोर वन्दै गएको छ । पर्यटक मार्गमै पर्ने चौकी वजारमा लालीगुराँस होटल संचालन गरेर वसेका उदय कुमार तामाङले पदमार्ग मासिए संगै यस क्षेत्रको पर्यटन व्यवसाय पनि धारासायी भएको वताउनु भयो ।

टिएमजे क्षेत्रमा सडक पुगेपछि स्थानीयको यातायात पहुँच सहज भएको छ । मोटर बाटोले पहाडका दुर्गम गाउँलाई सहर र पुर्वी तराई हुंदै राजधानी संग जोडीदिएको छ । यो विकासको सकारात्मक पक्ष हो । तर प्रश्न यहाँ विकासको विरोध गर्ने होइन । प्रश्न यो हो की, के विकासको नाममा नेपालका पुराना ऐतिहासिक पदमार्गहरू मेटाइनु उचित थियो ? र अझ गम्भीर प्रश्न, यदि पदमार्ग नै रहेन भने नेपाल विश्वकै उत्कृष्ट ट्रेकिङ गन्तव्य कसरी रहन सक्छ ? टिएमजे क्षेत्रमै पर्ने संखुवासभाको मादी नगरपालिकाका पुर्व नगरप्रमुख समेत रहेका कोशी प्रदेशका आथिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेप मासीएका पुराना र पर्यटकले हिड्न मन पराउने पदमार्गहरु पहिचान गरी ती पदमार्गको विस्तार गर्न सरकारी स्तर बाटै काम थाल्न ढिला भैसकेको वताउनु हुन्छ ।


पदमार्ग संरक्षण, ग्रामिण अर्थतन्त्रमा टेवा
नेपालको पर्यटन उद्योगको सबैभन्दा ठूलो क्षेत्र हामीले हिमाल मात्र देख्यौं । ती हिमाल सम्म पुग्ने पदमार्ग चांही हामीले विकासका नाममा मेटीदियौं । विदेशी पर्यटक सडकमा यात्रा गर्न नेपाल आउंदैनन् । उनीहरू प्रकृति संग घुलमिल हुन, गाउँमा बास बस्न, स्थानीय संस्कृति संग नजिकिन, हिंड्दै हिमालको दृष्य हेरेर आनन्द लिन नेपाल आउने गर्छन । इङल्याण्डको उत्तर पश्चिममा रहेको कम्ब्रीया काउन्टी का युवा ज्याक विलियम जन्सटन तीन महिना अघि टिएमजे क्षेत्रको पदयात्रमा आएका थिए । पेशाले वेभ डेभलपर उनी यो क्षेत्रमा मासिएको पदमार्ग देखेर निकै निरास देखिन्थे ।

पदमार्ग मासेर गर्न लागीएको पर्यटन क्षेत्रको विकासले सोचे जस्तो फल नदीने उहाँको भनाई थियो । कम्ब्रीया लेक डिस्ट्रिक नेशनल पार्कका कारण विश्वभर चर्चित छ । यो क्षेत्र सुन्दर ताल, पहाड, पदयात्रा (हाइकिङ) र प्राकृतिक दृश्यका लागि प्रसिद्ध स्थान हो ।
प्रत्येक वर्ष लाखौं पर्यटक यहाँ ट्रेकिङ, पदयात्रा र प्रकृति अवलोकनका लागि पुग्छन् । यहां सरकारले सडक विस्तार भन्दा पनि ऐतिहासिक पदमार्गहरूको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिएको छ, जसका कारण यो क्षेत्र आज पनि विश्वका लोकप्रिय पदयात्रा गन्तव्य मध्ये एक मानिन्छ । जन्सटन ले नेपाल सरकारले आफ्नो देशको यो मोडल अपनाएर पदमार्ग पर्यटनको विकास गर्न सक्ने सुझाव दिनुभयो ।
पदमार्गकै कारण नेपालका सगरमाथा, अन्नपूर्ण, मनास्लु, लाङटाङ, कञ्चनजंघा, डोल्पा जस्ता क्षेत्र विदेशी पर्यटकका लागि उत्कृष्ट ट्रेकिङ गन्तव्य बनेका हुन् । यदि ती सबै स्थान सम्म सडक पुर्याएर पदमार्ग मास्दै जाने हो भने नेपालको ट्रेकिङ पर्यटनको मौलिकता नै समाप्त हुने र नेपालको पर्यटन वजार समेत खस्कीदै जाने कोशी प्रदेशका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीको भनाई छ ।

बसन्तपुर, तीनजुरे, चौकी, गुफा पोखरी हुंदै ताप्लेजुङ जाने पदमार्गमा हिजो आज गाडी गुढ्छन् । विदेशी पर्यटकको चहलपहल पनि त्यस्तो छैन । पर्यटकका भरिया, गाइड र भान्सेको रूपमा काम गर्ने स्थानीयहरु पनि पेशा परिवर्तन गरेर गाउँ नै छोडेका छन् । गाउँका घरहरूमा पर्यटक बास बस्न आईनै पुग्दैनन् । स्थानीय किसानले दूध, घिउ, आलु, अण्डा, मह, कोदोको रोटी, सिस्नो, ढिंडो जस्ता स्थाानीय परिकार विक्री गर्न पाएका छैनन् । हस्तकला र स्थानीय उत्पादनको बिक्री नै घटेको छ । एउटा पर्यटक पाँच देखि सात दिन सम्म यस क्षेत्रमा बस्दा उसले गर्ने खर्च प्रत्यक्ष रूपमा गाउँमै पुग्थ्यो ।

पदमार्गको ठाउँमा सडक विस्तार भएर गाडी गुढ्न थालेपछि केही घण्टामै गन्तव्य पुगिन्छ । जसले गर्दा आएका पर्यटकले पनि बसाई अवधि छोट्याउने गरेको गुफा वजारकी होटल व्यवसायी हिमा खनालले वताउनु भयो । बसाई अवधि छोटिए संगै गाउँ या टिएमजे क्षेत्रमा बस्ने समय पनि घटाउने गरेको र पर्यटकले स्थानीय होटल, होमस्टे, गाइड र भरियाको सेवा कम प्रयोग गर्न थालेको होटल व्यवसायी खनालको भनाई छ । यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्रमा परेको छ ।
सडक विकास र पर्यटन बीचको द्वन्द्व
सडक निर्माणलाई नेपालमा विकासको मुख्य सूचक मानिन्छ । दुर्गम गाउँहरु सडक संजाल संग जोडिनु आवश्यक पनि हो । तर पर्यटन विज्ञहरू ट्रेकिङ अर्थात पदयात्रा नै मुख्य पर्यटन उत्पादन भएको क्षेत्रमा सडक निर्माण गर्दा पदमार्ग संरक्षणलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । दुर्भाग्यवश, नेपालका धेरै ठाउँमा सडक बनाउंदा पुराना पदमार्गलाई नै सडकमा परिणत गरीएको छ । नयाँ सडक संगै वैकल्पिक पदमार्ग निर्माण नगर्दा टिएमजे क्षेत्रको पर्यटक आगमनमै असर पर्न सक्ने पर्यटन कार्यालय धरानका प्रमुख भिषम राईले वताउनु भयो । पदमार्ग मासेर सडक वनाउदा पर्यटकले सडकमै हिंड्नुपर्ने अवस्था आएको छ भने धुलो, सवारी साधनको आवाज र दुर्घटनाको जोखिमले पनि ट्रेकिङको आकर्षण घट्न सक्ने कार्यालय प्रमुख राईको भनाई छ ।

सडक विस्तारले टिएमजे क्षेत्रको पदमार्ग पर्यटनमा मात्र असर पारेको छैन । देशका अन्य ट्रेकिङ रुटमा प्रभाव पारेका उदाहरण प्रशस्तै छन् । अन्नपूर्ण पदमार्गमा बेनी–जोमसोम र मनाङ क्षेत्रमा सडक पुगे पछि धेरै पर्यटकले पुरानो पदमार्ग छाड्न थालेका छन् । जसले गर्दा स्थानीय व्यवसाय प्रभावित भएको छ । त्यसपछि पर्यटन व्यवसायीहरू नयाँ वैकल्पिक पदमार्ग निर्माणमा लागेका छन् । यसले पर्यटकलाई सडक छोडेर पुन : जंगल र गाउँ हुँदै पदयात्रा गर्न सजिलो वनाएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले जानकारी दिनुभयो ।
अहिले अधिकांश विदेशी पदयात्री सडक भन्दा वैकल्पिक पदमार्ग रोजेर यात्रा गर्छन । लाङटाङ र मनास्लु क्षेत्रमा सडक विस्तार गर्दा पदमार्ग संरक्षणलाई उच्च प्राथमिकतामा राखीएको छ । किनकि त्यहाँको प्रमुख आकर्षण नै पदयात्रा पर्यटन हो । यस्ता उदाहरण हेर्ने हो भने सडकको विकास र पर्यटन बीच सन्तुलन कायम गर्न अवस्य सकिन्छ ।

फेरी पनि कुरा गरौं टिएमजे क्षेत्रकै । यो केवल वहुप्रजातीका गुराँस फुल्ने ठाउँ मात्र नभएर जैविक विविधताका लागि महत्वपुर्ण स्थान पनि हो । यहाँ पहिचान भएका ३२ प्रजातिका गुराँस पाइन्छन् । सयौं प्रजातिका चराचुरुङ्गी, दुर्लभ वनस्पति, रेड पाण्डा लगायतका वन्यजन्तुको बासस्थान पनि हो यो क्षेत्र । कुहिरोले ढाकिएका घना जंगल, खुला डाँडाबाट देखिने कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमशृंखला यस क्षेत्रको पर्यटकीय आकर्षण हुन् ।
आज विश्वभर नेचर वाक, फरेस्ट बाथिङ, बर्ड वाचिङ, फोग ट्रेकिङ, स्लो ट्राभल जस्ता अवधारणाको लोकप्रियता बढिरहेको छ । टिएमजे क्षेत्र संग यी सबै सम्भावना छन् । तर पदमार्ग हराउदै या मासिदै गएमा यी सम्भावना पनि विस्तारै हराउदै जाने सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाको भनाई छ । ५ सय ८५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको टिएमजे क्षेत्रमा तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका साविकका २५ गाविस समेटीएको आईयुसिएनले प्रकाशीत गरेको ‘तीनजुरे मिल्के जलजले गुराँस संरक्षण क्षेत्र दिगो विकासका लागि रणनीति’ नामक पुस्तकमा उल्लेख छ ।
पदयात्रा केवल पर्यटकको अनुभव मात्र होइन, दुर्गम गाउँको आमदानीको स्रोत पनि हो । एकजना विदेशी पर्यटक गाउँमा बस्दा गाइड, भरिया, होमस्टे, किसान, होटल, पसल, हस्तकला व्यवसायी लगायत सबैलाई आम्दानी हुन्छ । सडक मार्गबाट सिधै गन्तव्य पुग्ने पर्यटक गाउँमा बस्दैन् । जसले गर्दा स्थानीय अर्थतन्त्रमा पैसा घुम्ने चक्र नै कमजोर वन्न पुग्छ । त्यसैले ट्रेकिङ अर्थात पदयात्रा पर्यटनमा पर्यटकको संख्या मात्र होइन, बसाइको अवधि पनि महत्वपूर्ण हुने गरेको होटल व्यवसायी संघ तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठको भनाई छ ।

टिएमजे क्षेत्रलाई पुन : चल्तीको ट्रेकिङ गन्तव्य बनाउन अझै सम्म पनि ढिलो भैसकेको भने छैन । सबै भन्दा पहिले पुराना पदमार्गको विस्तृत नक्साङ्कन गरेर मेटिएका स्थानलाई खोतल्ने काम गर्नुपर्छ । जहाँ सडक बनेको छ, त्यस स्थानमा सडक संगै छुट्टै सुरक्षित पदमार्ग निर्माण गर्नुपर्छ । यो अभ्यास युरोप र न्युजिल्यान्डका अधिकांस पर्यटकीय स्थलमा सफल भैसकेको छ । टिएमजे क्षेत्रका लागि मात्र छुट्टै ट्रेकिङ मास्टर प्लान बनाउन ढिलो गर्नुहुन्न ।
पदमार्ग, विश्राम स्थल, होमस्टे, सूचना केन्द्र, उद्धार प्रणाली, दिशा देखाउने सुचना बोर्ड, डिजिटल जीपीएस ट्रेल लगायत प्रणालीको विकास गर्नु आवश्यक छ । स्थानीय समुदायलाई प्रत्यक्ष लाभ हुने गरी होमस्टे, स्थानीय खाद्यान्न, मह, अलैंची, ढाका, जडीवुटी, हस्तकला र अन्य उत्पादनलाई पर्यटन सँग जोड्नुपर्छ । वातावरणीय प्रभाव मूल्याङ्कन जस्तै पदमार्ग र पर्यटन क्षेत्र माथिको प्रभाव पनि अध्ययन गर्ने नीति वनाउनु पर्छ ।
अन्त्यमा केन्द्र र कोशी प्रदेश सरकारले टिएमजेलाई ‘पूर्वी नेपालको प्राकृतिक पदमार्ग’ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डिङ सहित प्रवर्द्धन गर्ने कार्यमा सघाउनु पर्छ ।

अन्तराष्ट्रिय स्तरमा प्रचार गर्नुपर्छ । त्यसैले विकासको नाममा ऐतिहासिक पदमार्गहरू मेटिंदै गए भने नेपालले आफ्नो सबैभन्दा मौलिक पर्यटन सम्पत्ति गुमाउदै जानेछ । विश्वका सफल पर्यटन गन्तव्यहरूले सडक भन्दा पदमार्गलाई जोगाएर अर्थतन्त्र बलियो बनाएका छन् । नेपालले पनि त्यही बाटो रोज्नुपर्ने बेला आएको छ ।
टिएमजेका पुराना पदमार्ग पुनर्जीवित गरेर सडक संगै वैकल्पिक ट्रेल निर्माण गर्दै स्थानीय समुदायलाई पर्यटनको केन्द्रमा राखेर प्रकृतिमैत्री पर्यटन नीतिलाई कार्यान्वयन गर्न सकियो भने यो क्षेत्र फेरि विदेशी ट्रेकरको रोजाइमा पर्न सक्छ ।
पदमार्ग जोगाएर ट्रेकिङ पर्यटन
विश्वका धेरै देशले सडक भन्दा पदमार्गलाई पर्यटन सम्पत्तिका रूपमा संरक्षण गरेर टे«किङ पर्यटन व्यवसाय वढाएका छन् । पेरुको इन्का ट्रेल यसको उत्कृष्ट उदाहरण हो । विश्व प्रसिद्ध माचु पिच्चु सम्म सडक लैजान सकिने अवस्था हुंदाहुंदै पनि पेरुले पुरानो पदमार्गलाई संरक्षण गरीरह्यो ।
अहिले हजारौं पर्यटक चार दिन सम्म पैदल यात्रा गरेरै माचु पिच्चु पुग्छन् । सरकारले दैनिक पर्यटक संख्या सीमित गरेको छ, गाइड अनिवार्य गरेको छ र स्थानीय समुदायलाई पर्यटनको प्रत्यक्ष लाभ पुग्ने व्यवस्था मिलाएको छ । पदमार्ग नै त्यहाँको सबैभन्दा ठूलो पर्यटनमा आधारीत उत्पादन बनेको छ ।

स्पेनको कामिनो दे सान्तियागो पदमार्ग पर्यटन बाट राम्रो आमदानी गरीरहेको अर्को उदाहरण हो । ८ सय किलोमिटर भन्दा लामो यो ऐतिहासिक पदमार्ग आधुनिक सडक निर्माण पछि पनि मासिएको छैन । बरु यसको संरक्षण गरेर आज लाखौं तीर्थयात्री र पदयात्री आकर्षित गरीरहेको छ । यसले साना गाउँहरूको अर्थतन्त्र पुनर्जीवित गर्नमा ठुलो मद्धत गरेको छ ।
त्यस्तै जापानको कुमानो कोदो सयौं वर्ष पुरानो धार्मिक पदमार्ग हो । सरकारले यसलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा समेत सुचीकृत गर्न सफल भएको छ । यो क्षेत्रमा पदमार्गकै कारण ग्रामीण पर्यटन फस्टाएको छ । न्युजिल्यान्डको मिल्फोर्ड ट्र्याक विश्वकै उत्कृष्ट ट्रेकिङ मार्ग मध्येमा पर्छ ।

सरकारले सडक संगै पदमार्गलाई प्राथमिकता दिएको छ । यी उदाहरण हेर्दा सडक संगै पदमार्गले पर्यटन व्यवसायलाई दीर्घकालीन वनाउने देखाउछ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा हरेक वर्ष १ लाख ५० हजार भन्दा वढी विदेशी पर्यटक हिमाली सौन्दर्य हेर्न मात्र होइन, पदमार्ग हिंड्न आउँछन् । उनीहरूका लागि यात्रा स्वयं गन्तव्य हो । यदि पदमार्ग नै मासिंदै गए भने नेपालको ट्रेकिङ पर्यटनको सबैभन्दा ठूलो आकर्षण नै हराउने खतरा वढेर जान्छ ।