तेह्रथुम । तेह्रथुम र धनकुटाको सिमाना चित्रे बजारमा शनीवार देखि पूर्वी पहाडी क्षेत्रकै सबैभन्दा पुरानो र ऐतिहासिक राँके मेला सुरु भएको छ । प्रत्येक वर्ष साउन २ गतेदेखि सुरु हुने यो मेला भर्न तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, धरान, इटहरी, झापा, मोरङ तथा भारतको दार्जिलिङ सम्म बाट हजारौं मानिस सहभागी भएका छन् ।
चित्रे र बसन्तपुरका अधिकांश होटल तथा लजहरू भरिभराउ भएका छन् । स्थानीय व्यापार व्यवसायमा उल्लेख्य चहलपहल देखिएको छ । करिब दुई सय वर्षको इतिहास बोकेको यो मेला केवल मनोरञ्जन वा व्यापारको थलो मात्र होइन, पूर्वी नेपालको सामाजिक सम्बन्ध, सांस्कृतिक पहिचान, आर्थिक आदान–प्रदान र पर्यटन प्रवद्र्धनको जीवन्त धरोहरका रूपमा आज पनि निरन्तर चलिरहेको छ ।
-1784367645.jpg)
स्थानीय पूर्णजङ राईका अनुसार राँके मेला पूर्वी पहाडका युवायुवतीहरूको सबै भन्दा ठूलो भेटघाटको अवसर बनेको छ । बजारका होटल, रेष्टुरेन्ट, साना व्यवसाय, यातायात, कृषि उत्पादन र स्थानीय हस्तकलाको व्यापारमा मेलाले ठूलो आर्थिक चहल पहल वढाएको छ । चित्रे बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारद कटुवालका अनुसार राँके मेला यस क्षेत्रकै सबैभन्दा पुरानो मेला मानिन्छ ।
लेक, औल र तराई जोड्ने ऐतिहासिक व्यापारिक केन्द्र
स्थानीय बुढापाकाहरूका अनुसार सडक सञ्जाल नपुगेको समयमा राँके मेला लेक, औल र तराईलाई जोड्ने प्रमुख व्यापारिक केन्द्र थियो । लेकाली भेगका किसानहरू आलु, कोदो, फापर, घिउ, चिज तथा अन्य कृषि उत्पादन बोकेर मेलामा आउँथे । औल र तराईका व्यापारीहरू आँप, लिची, कटहर, केरा, धान, नुन, कपडा र दैनिक उपभोग्य सामग्री लिएर आइपुग्थे ।
-1784367648.jpg)
त्यतिबेला नगद कारोबार भन्दा वस्तु विनिमय (बार्टर प्रणाली) नै बढी प्रचलनमा थियो । लेकाली किसानले आलुको सट्टा आँप वा लिची लिएर फर्किने र तराईका व्यापारीले फलफूलको सट्टा आलु तथा अन्य कृषि उत्पादन लैजाने परम्पराले यो मेलालाई आर्थिक अन्तरनिर्भरताको उत्कृष्ट उदाहरण बनाएको स्थानीय होमराज रायमाझीले वताउनु भयो ।
आज पनि त्यो परम्परा पूर्ण रूपमा हराएको छैन । अहिले नगद कारोबार बढे पनि लेक र औलका उत्पादन एउटै बजारमा पुग्ने परम्परा कायम छ ।
धाननाचको सांस्कृतिक महत्व
राँके मेलाको सबैभन्दा ठूलो आकर्षण लिम्बु समुदायको मौलिक धाननाच हो । धाननाच केवल नाच मात्र होइन, माया, मित्रता, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ । तेह्रथुममा करिब ३६ प्रतिशत लिम्बु समुदायको बसोबास छ । यही समुदायको सांस्कृतिक अभ्यासलाई पछ्याउँदै अन्य समुदायका युवायुवतीले पनि हात समाएर धाननाचमा सहभागी हुने परम्परा रहिआएको छ ।
-1784367648.jpg)
धाननाच संस्कृतिका जानकार थानाहाङ तिगेलाका अनुसार पछिल्लो पुस्तामा आधुनिक मनोरञ्जनका साधन बढ्दै जाँदा धाननाच प्रतिको आकर्षण केही घटेको देखिए पनि यसको मौलिकता जोगाउन स्थानीय तह, समुदाय र सांस्कृतिक संघ संस्थाले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।
‘जोडी बाँध्ने मेला’ को परिचय
राँके मेलाको अर्को विशेषता यसको सामाजिक पक्ष हो । विगत देखि नै यो मेला युवायुवतीहरूको भेटघाट, चिनजान र सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा चिनिँदै आएको छ । मेलामा पहिलो पटक भेट भएका कतिपय युवायुवती पछि विवाह बन्धनमा बाँधिएका उदाहरणहरू स्थानीय समाजमा प्रशस्तै छन् । त्यसैले बुढापाकाहरूले यस मेलालाई ‘जोडी बाँध्ने मेला’ भनेर समेत चिनाउने गरेका छन् ।
पर्यटनको नयाँ सम्भावना
समुद्री सतहदेखि करिब २ हजार ४ सय मिटरको उचाइमा रहेको चित्रे क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित छ । गुराँसका जंगल, चिसो मौसम, हिमाली दृश्य, पदमार्ग तथा प्राकृतिक सौन्दर्यका कारण यहाँ वर्षभर आन्तरिक पर्यटक आउने क्रम बढिरहेको छ ।
-1784367646.jpg)
राँके मेलालाई स्थानीय सरकारले सांस्कृतिक पर्यटनसँग जोडेर व्यवस्थित रूपमा प्रवद्र्धन गर्ने प्रयास गरीरहेको नगर प्रमखु अर्जुन माबोहाङले वताउनु भयो । मेलाले पूर्वी नेपालको पर्यटन विकासमा नयाँ आयाम थपेको पर्यटन व्यवसायीहरूको भनाई छ । मेलाका अवसरमा स्थानीय खानाका परिकार, मौलिक संस्कृति, कृषि उत्पादन र हस्तकलाको प्रदर्शनले पर्यटकलाई थप आकर्षित गर्ने सम्भावना देखिन्छ ।
स्थानीय अर्थतन्त्र चलायमान
मेलाका कारण होटल, यातायात, कृषि उत्पादन, फलफूल, कपडा, खेलौना, घरेलु सामग्री तथा स्थानीय परिकारको व्यापार उल्लेख्य रूपमा बढेको छ । साना व्यवसायीहरूका लागि राँके मेला वार्षिक आम्दानीको महत्वपूर्ण अवसर बनेको छ ।
स्थानीय व्यापारीहरूका अनुसार मेलामा हुने कारोबारले वर्षभरको व्यापारलाई समेत सकारात्मक प्रभाव पार्ने गरेको छ ।
मौलिक सम्पदा संरक्षणको आवश्यकता
राँके मेला केवल एउटा धार्मिक वा मनोरञ्जनात्मक मेला होइन, पूर्वी नेपालको इतिहास, संस्कृति, व्यापार र सामाजिक सम्बन्धको जीवित अभिलेख हो । दुई शताब्दी देखि लेक, औल र तराईलाई एउटै चौतारीमा जोड्दै आएको यो मेलाको मौलिकता जोगाउन स्थानीय सरकार, प्रदेश सरकार तथा पर्यटन सँग सम्बन्धित निकायहरूले दीर्घकालीन संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
-1784367647.jpg)
चित्रे बजार व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार अधिकारीले राँके मेला पूर्वी पहाडको पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउँदै अझ व्यवस्थित र आकर्षक बनाउन समितिले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार आगामी वर्षहरूमा मेलालाई सांस्कृतिक, कृषि, पर्यटन तथा स्थानीय उत्पादनको प्रदर्शनी सँग जोडेर राष्ट्रियस्तरमा परिचित गराउने योजना अघि सारेको छ ।
-1784367648.jpg)
मेला अवधिभर सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ । इलाका प्रहरी कार्यालय बसन्तपुरले मेला स्थल तथा बजार क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गर्नुका साथै रात्री गस्ती समेत बढाएको छ ।