तेह्रथुम । लालीगुराँस नगरपालिकाले पालिका भित्र संचालनमा रहेका ११ र १२ कक्षाको तह घटाएर विद्यालय मर्ज गर्ने निर्णय गरेको छ । प्लस टुु संचालन भैरहेका पालिकाका ८ वटा विद्यालयको तह घटाएर दुई स्थानमा सिमित गर्ने निर्णय गत असार २६ गते बसेको नगर कार्यपालिकाको वैठकले गरेको हो ।


भौगोलीक अवस्था, बसाँई सराई, जन्मदरमा कमी, अवसरको खोजी लगायतका कारणले गर्दा पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या विद्यालयमा घट्दो छ । पालिका भित्र रहेका विद्यालयमा शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालयको तह घटाएर मर्ज गर्ने नीति लिइएको नगर प्रमुख अर्जुन माबोहाङले वताउनु भयो ।
वडा नम्वर ३ मुसाङखेल वडा नम्वर ४ फुलेक र वडा नम्वर ५ दाँगपा र वडा नम्वर १ र २ सहितका विद्यार्थीका लागि बसन्तपुरमा रहेको बसन्त मावीलाई उत्कृष्ठ शिक्षा सहितको शैक्षिक हव (केन्द्र) वनाउने गरी तयारी थालीएको नगर प्रमुख अर्जुन माबोहाङले वताउनु भयो । फुलेक र दाँगपाका दुई विद्यालयको हकमा भने अहिले नै निर्णय भैनसकेको र छलफल पछि क्रमश : तह घटाएर मर्ज गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । ‘यि दुई विद्यालयको हकमा पनि मर्ज गर्ने बिषयमा छलफल भैरहेको छ’ अधिकृत घिमिरेले भन्नुभयो ‘यि विद्यालयमा विद्यार्थी संख्या नै कम छन्, मर्ज गर्नुको विकल्प छैन ।’

त्यस्तै वडा नम्वर ६ र ७ सुङनाम, ८ र ९ सोल्माका विद्यार्थीका लागि रत्न मावि सोल्मालाई शैक्षिक केन्द्र वनाएर लैजाने गरी नगरपालिकाले कार्यक्रम अगाडी वढाएको जनाएको छ । ‘अव नगरको शैक्षिक केन्द्र बसन्तपुर र सोल्मा हुनेछन्’ नगर प्रमुख माबोहाङले भन्नुभयो ।
यि दुई विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले विज्ञान, मानविकि, शिक्षा, वाणिज्य संकायका बिषयहरु निशुल्क पढ्न पाउनेछन् । यि दुवै विद्यालयमा विद्यार्थीलाई उच्च प्रविधिको व्यवहारिक ज्ञान सहित इन्टरनेट, कम्युटर सहितको पठन पाठन गराईने नगर प्रमुख माबोहाङले वताउनु भयो । यि दुवै विद्यालयमा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका सम्पुर्ण विद्यार्थीलाई नगरपालिकाले निशुल्क रुपमा खाना र वस्नका लागि व्यवस्था गर्ने जनाएको छ ।

विद्यालय जान नसक्ने विद्यार्थीहरुका लागि इन्टरनेट कक्षा संचालन गर्ने योजना नगरपालिकाको छ । नयाँ पुराना सवै विद्यार्थीका लागि शिक्षक लाइसेन्स परिक्षा, लोकसेवा आयोग देखि कोरियन, जापनीज भाषा सिक्नका लागि पनि नगरपालिकाले यि दुवै विद्यालयमा व्यवस्था मिलाउने जनाएको छ । यि सवै तयारी कक्षाहरु पुर्णरुपमा निशुल्क हुने नगर प्रमुख माबोहाङको भनाई छ ।
पालिकाको छनौटमा परेका बसन्त मावी बसन्तपुर र रत्न मावी सोल्मालाई पालिकाले कोशी प्रदेशकै उत्कृष्ट पढाई हुने सरकारी विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको नगर प्रमुख माबोहाङको भनाई छ । यि विद्यालयमा शैक्षिक वातावरण सुधारका लागि भौतिक संरचना र शैक्षिक सामग्री प्रयाप्त रहेकाले विद्यार्थीलाई पठन पाठनमा सहज हुने प्रमुुख प्रशासकीय अधिकृत घिमिरेले वताउनु भयो ।

नगरपालिकाले ५ वडाका विद्यार्थीका लागि शैक्षिक केन्द्र तोकेको बसन्त मावीमा संखुवासभा र धनकुटाका समेत विद्यार्थीहरु अहिले पनि अध्ययन गरीरहेका छन् । पालिकाको यो निर्णय पछि पुर्वका झापा, सुनसरी र मोरङ देखीका विद्यार्थीहरु पनि अध्ययनका लागि आउने विश्वास नगरपालिकाको छ । बसन्तपुरमा बाह्रै महिना चिसो हावापानी हुने भएकाले वढी गर्मी हुने पुर्वी तराई र मधेश प्रदेशका विद्यार्थीहरु समेत चिसो मौषम भएको यो विद्यालयमा पढ्नका लागि आउने नगर प्रमुख माबोहाङले वताउनु भयो । ‘थोरै विद्यार्थी संख्या भएका विद्यालयमा पनि धेरै खर्च भैरहेको अवस्था छ’ नगर प्रमुख माबोहाङले भन्नुभयो ‘यस्तो अनाबश्यक खर्च घटाएर विद्यार्थीलाई सहज रुपमा उत्कृष्ठ शिक्षा दिने नीति नगरपालिकाले लिएको हो ।’
विद्यालय मर्ज (गाभ्ने) गर्दा के फाईदा हुन्छ त ?
छरीएर रहेका विद्यालय मर्ज गरेर एकै स्थानमा पठन पाठन गराउँदा शैक्षिक गुणस्तरमा सुधार आई स्रोतसाधन समेत केन्द्रित हुने भएकाले अनुभवी शिक्षकहरू, पुस्तकालय, ल्याब जस्ता सुविधा उपलब्ध हुन्छन् । यस्ता विद्यालयमा शिक्षकहरूको नियमित उपस्थिति र निगरानी सजिलो हुने भएकाले उत्कृष्ठ पठन पाठन हुन्छ ।

धेरै विद्यालयमा शिक्षकको संख्या अपुग छ । त्यसमा पनि बिषयगत शिक्षक नहुँदा गुणस्तरीय शिक्षामै समस्या भैरहेको छ । विद्यालय यसरी मर्ज गरेर एकै ठाउँमा पठन पाठन गराउंदा शिक्षक अभावको समस्या समाधान हुन गै विषयगत शिक्षक व्यवस्थापनमा समेत सहज हुन्छ । भवन, कम्प्युटर, फर्निचर जस्ता भौतिक पूर्वाधारको समस्या हट्न गै बजेटको दोहोरो खर्च समेत कटौती हुन्छ । विद्यार्थी संख्या एकै स्थान अथवा विद्यालयमा केन्द्रीत हुने हुंदा शिक्षक प्रशिक्षण, प्रशासनिक काम एकीकृत हुन गै समय र खर्च बचत हुन्छ भने तालिम, अनुगमन र मूल्याङ्कन जस्ता गतिविधि समेत प्रभावकारी हुन्छन् ।

धेरै विद्यार्थीहरू एउटै ठाउँमा हुने भएकाले समूहमा सिकाइ, नेतृत्व क्षमताको विकास, सहकार्य जस्ता सीपको विकास हुन्छ भने विद्यार्थीको सामाजिक विकासमा पनि टेवा पुग्छ । अभिभावकलाई आफ्ना छोराछोरीको शैशिक्षक प्रगति बुझ्न समेत सजिलो हुन्छ । जसले गर्दा शिक्षक–अभिभावक समन्वय सुदृढ हुन गै असल र अनुशासीत समाज निर्माणमा समेत बल पुग्छ ।