
तेह्रथुम । लालीगुराँस नगरपालिकाले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले ‘तीनजुरे संगीत प्रशिक्षण केन्द्र’ सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रभित्रका नृत्य, गायन, र वाध्यवादनमा रुची भएका विद्यार्थी, युवायुवती तथा सर्वसाधारण लाई लक्षित गर्दै केन्द्र संचालनमा ल्याईएको नगरप्रमुख अर्जुन माबोहाङले वताउनु भयो ।

जिल्लामै पहिलो पटक नगरपालिका आफैले बसन्तपुर वजारमा सञ्चालनमा ल्याएको केन्द्रले नगरको सांगीतिक तथा सांस्कृतिक क्षेत्रको समृद्धिका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास नगर प्रमुख माबोहाङको छ । प्रशिक्षण केन्द्रमा गायन, नृत्य र वाध्यवादन सम्बन्धी व्यवस्थित र स्तरिय प्रशिक्षण प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागी हुनेहरूलाई स्थानीय नेपाली मौलिक सांगीतिक परम्परा मात्र होइन, आधुनिक शैलीका सांस्कृतिक तालिमहरू पनि प्रदान गरिने घिमिरेले वताउनु भयो । ‘हाम्रो नगरमा लुकेका धेरै प्रतिभाहरू छन्, तर उनीहरूलाई प्लेटफर्म र प्रशिक्षणको अभाव थियो’ नगर प्रमुख माबोहाङले भन्नुभयो ‘यो प्रशिक्षण केन्द्रले तिनीहरूलाई आफ्नो कला र सीप निखार्ने, प्रस्तुत गर्ने र भविष्य निर्माण गर्ने अवसर प्रदान गर्छ भन्नेमा हामी आशावादी छौं ।’ संगीत क्षेत्रमा रुची राख्ने नगर क्षेत्रका विद्यार्थी, युवा तथा महिलाहरूलाई लक्षित गर्दै प्रत्येक उमेर समूह अनुसार प्रशिक्षण वर्गहरू सञ्चालन गर्ने योजना नगरपालिकाको छ । प्रशिक्षणका लागि पालिकाले एक जना दक्ष प्रशिक्षकको समेत व्यवस्था मिलाएको जनाएको छ ।
यस प्रशिक्षण केन्द्रको सञ्चालनबाट पालिकामा सांस्कृतिक जागरण, बालबालिकाको आत्मविश्वास अभिवृद्धि, पर्यटन प्रवद्र्धनमा सहयोग साथै लोकसंगीत र परम्परागत वाद्यवादनको संरक्षण र निरन्तरतामा समेत ठुलो सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले वताउनु भयो । नगरपालिकाले यो कार्यक्रमलाई दीर्घकालीन योजनाको रूपमा लिएको जनाउंदै आगामी दिनमा यसलाई संगीत परीक्षा केन्द्रको रूपमा विस्तार गर्ने तयारी समेत गरिरहेको घिमिरेको भनाई छ ।
स्थानीय बासिन्दा, विद्यालय, अभिभावक र संगितमा रुची राख्ने स्थानीय कलाकारहरू बाट पनि यस पहललाई सकारात्मक समर्थन प्राप्त भइरहेको नगरपालिको जनाएको छ । यस्ता कार्यक्रमले स्थानीय स्तरमै सीप विकासका अवसर सिर्जना गर्दै युवाहरूलाई सिर्जनात्मक कार्यमा प्रेरित गर्ने नगर प्रमुख माबोहाङले वताउनु भयो । केन्द्र संचालनका लागि पालिकाले अलग्यै कार्यविधि वनाएको छ । कार्यविधि २०८२ असार १२ गते बसेको कार्यपालिकाको बैठकले पास पनि गरिसकेको छ ।

संगीत प्रशिक्षण केन्द्र बाट गायन, नृत्य र वाध्यवादनमा रुचि भएका विद्यार्थी र सर्वसाधारणले आफ्नो प्रतिभा पहिचान गर्न, निखार्न र प्राविधिक रूपमा सुधार गर्न सक्नेछन् । केन्द्रमा दैनिक हुने विभिन्न सांगीतिक कार्यक्रम, प्रस्तुति र प्रशिक्षणले सहभागीहरूको आत्मविश्वास बढाउनुको साथै सामाजिक र पेशागत जीवनमा समेत सकारात्मक प्रभाव पार्ने प्रशिक्षक उत्तम दाहालले वताउनु भयो । केन्द्रमा सहभागी हुनेहरुको सीप विकास संगै स्थानीय सांगीतिक कार्यक्रम, विवाह, उत्सव, रेस्टुरेन्ट, रेडियो/टिभी आदिमा प्रस्तुति दिने अवसर पाउने भएकाले आम्दानीको श्रोत बन्न सक्छ ।
नेपाली मौलिक लोकसंगीत, परम्परागत नृत्य र वाद्यवादनको ज्ञान लिंदा सांस्कृतिक पहिचान जगेर्ना गर्न सवै भन्दा ठसलो मद्दत पुग्ने नगर प्रमुख माबोहाङको भनाई छ । यस्ता कार्यले युवाहरूको फुर्सदको समय सिर्जनात्मक गतिविधिमा प्रयोग हुने भएकाले सामाजिक विकृति (जस्तै लागूपदार्थ, मोबाइल लत आदि) बाट टाढा राख्न सहयोग पुग्दछ । योग्य र प्रतिभाशाली प्रशिक्षार्थीहरूले स्थानीय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सांगीतिक प्रस्तुति दिने अवसर प्राप्त गर्न सक्छन् ।
प्रशिक्षणमा सहभागी हुंदा विभिन्न क्षेत्रका मानिसहरूसंग भेटघाट, सञ्जाल विस्तार हुने र समूहमा कार्य गर्ने क्षमता अभिवृद्धि हुने भएकाले प्रशिक्षण केन्द्रको सञ्चालनले नगर क्षेत्रमा कला–संस्कृतिको स्तर मात्र होइन, सामाजिक र आर्थिक क्षेत्रको समृद्धिमा समेत महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा नगरपालिकाले गरेको छ ।

केन्द्र संचालनका लागि पालिकाले आवश्यक वाध्यवादनका सामग्री पनि खरीद गरीसकेको जनाएको छ । पालिकाले पहिलो चरणमा नगरका ३२ वटै विद्यालयमा पुगेर आधारभुत प्रशिक्षण मार्फत ५० जना संभावना बोकेका र रुची भएका विद्यार्थीहरुको छनौट गरेको छ । पहिलो चरणमा यि विद्यार्थीलाई केन्द्रमा ल्याएर प्रशिक्षण दिईने नगर प्रमुख माबोहाङले वताउनु भयो ।
बसन्तपुर वजार क्षेत्र भन्दा बाहिर बाट केन्द्रमा प्रशिक्षण लिन आउने विद्यार्थी बस्नका लागि बसन्त मावीमा ७७ लाख रुप्रैंयाको खर्चमा अलग्यै भवन पनि निर्माण भैरहेको छ । भवनमा बसेर नियमित प्रशिक्षण लिन चाहाने विद्यार्थीका लागि नगरपालिकाले नै निशुल्क खाना र बस्ने व्यवस्था मिलाईदिएको नगरप्रमुख माबोहाङले वताउनु भयो । केन्द्रको औपचारीक उद्घाटन आगामी असार १५ गते गर्ने तयारी नगरपालिकाले गरेको छ ।