नेपालको भौगोलिक बनोट, प्राकृतिक विविधता र मौसमी परिवर्तनले यहाँका पहाडी तथा लेकाली क्षेत्रहरूलाई अद्वितीय सौन्दर्यले भरिपूर्ण बनाएका छन् । त्यसमाथि, वर्षायाममा विशेष गरी असार, साउन र भदौ महिनामा देखा पर्ने कुहिरो अर्थात् सेतो धुवाँ जस्तो देखिने हुस्सुले गाउँ, वनपाखा, लेक, भीर र बाटोलाई ढाकेर एउटा अलौकिक दृश्य सिर्जना गर्छ । यही कुहिरोले आफैंमा एउटा पर्यटकीय उत्पादन बन्ने सम्भावना बोकेको छ, जसलाई ‘कुहिरो पर्यटन’ अथवा ‘हुस्सु पर्यटन’ भनेर परिभाषीत गर्न थालिएको छ ।

कुहिरो पर्यटन भन्नाले त्यस्ता पर्यटकीय गतिविधिहरूलाई जनाइन्छ, जुन कुहिरोको सौन्दर्य, वातावरण, अनुभव र तस्बिर खिच्ने अवसरहरूमा केन्द्रित हुन्छ । पर्यटकलाई कुहिरोबीचको पैदल यात्रा, भ्यू प्वाइन्टहरूबाट कुहिरो हेर्ने, तस्बिर खिच्ने, चिसो अनी शान्त वातावरणमा ध्यान बस्ने जस्ता क्रियाकलाप अत्यन्तै मनपर्छ । यो ‘मूड टुरिज्म’, ‘स्लो टुरिज्म’ वा ‘नेचर मेडिटेसन टुरिज्म’ जस्तै नया“ पर्यटकीय कृयाकलाप हो ।
नेपालमा पहाड तथा लेकाली भूभागमा सवारी साधनबाट सहजै पुग्न सकिने अनेकौं स्थान छन्, जहाँ वर्षायामका केही महिना दैनिक रूपमा कुहिरो लाग्ने गर्छ । विशेष गरी तेह्रथुम, इलाम, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दार्चुला, जाजरकोट, बागलुङ, म्याग्दी, डोल्पा, रोल्पा जस्ता जिल्लाहरूमा यस्तो वातावरण पाइन्छ । यहाँका ग्रामीण बस्तीहरू, जंगल, गोठ र पैदलमार्गहरू हुस्सुले ढाकेर पर्यटकलाई स्वर्गीय दृश्य दिन्छन् । यस्तो प्राकृतिक अवस्था विश्वका केही गन्तव्यमा मात्र पाइने हुँदा यसको प्रचार–प्रसार र व्यवस्थापन गरियो भने यो क्षेत्र पर्यटन विकासको वैकल्पिक विकल्प बन्न सक्ने पर्याप्त संभावना छ ।

कुहिरो पर्यटन नेपालका पहाडी तथा लेकाली क्षेत्रका लागि उपयुक्त, सस्तो र दिगो पर्यटनको नयाँ बिषय वस्तु हो । यसले वर्षायाममा घट्ने पर्यटकको आवागमनलाई कायम राख्न सक्छ । पर्यटकलाई नयाँ अनुभूति दिने, ग्रामीण जीवनशैली बुझाउने र स्थानीय समुदायलाई प्रत्यक्ष रोजगारी तथा आर्थिक फाइदा दिने सम्भावनाले भरिएको छ ‘कुहिरो पर्यटन’ । यसका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार बीच सहकार्य, निजी क्षेत्रको लगानी र समुदायको नेतृत्व आवश्यक छ । कुहिरो पर्यटनले नेपालको पर्यटन क्षेत्रमा नयाँ र शान्तिमय प्रवृत्तिको सुरुवात गर्न पक्कै पनि महत्वपुर्ण भुमिका खेल्न सक्छ । जहाँ मौनतामा पनि सौन्दर्य भेटिन्छ, र हुस्सुमा पनि पर्यटकीय भविष्य देखिन्छ । अफ सिजनमा पनि नेपालका मध्य र उच्च पहाडका लेकाली क्षेत्रका लागि पर्यटक आकर्षीत गर्ने फरक मोडलको पर्यटकीय शैली कुहिरो अर्थात हुस्सु वन्न सक्छ ।
-1753674816.jpg)
तीनजुरे, मिल्के, जलजले र बसन्तपुर क्षेत्र (तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल) मा असार देखि भदौ महिनाको अन्तीम सम्म बाक्लो हुस्सु (कुहिरो) लाग्ने प्राकृतिक विशेषता छ, जसलाई उपयुक्त व्यवस्थापन र प्रवद्र्धन गर्न सकियो भने यस क्षेत्रलाई कोशी प्रदेशकै एक मात्र ‘हुस्सु पर्यटन’ -Fog Tourism_ को गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यो क्षेत्रको कुहिरोले प्राकृतिक सौन्दर्य, शान्त वातावरण र अद्वितीय दृश्यका कारण पर्यटकलाई आकर्षित गर्ने थुप्रै सम्भावना बोकेको छ । यसबाट स्थानीय समुदाय, कृषि पेशामा लागेकाहरु, पर्यटन व्यवसायी तथा होटल व्यवसायीले प्रत्यक्ष आर्थिक फाईदा लिन सक्छन् ।
हुस्सु (कुहिरो) पर्यटन भन्ने अवधारणा विशेषगरी ‘प्राकृतिक वातावरणको सौन्दर्यमा आधारित अनुभावात्मक पर्यटन’ अन्तर्गत पर्छ, र विश्वका केही गन्तव्यहरूले यसबाट ठूलो मात्रामा पर्यटक आकर्षण, आर्थिक आम्दानी र सांस्कृतिक प्रवर्धनमा फाइदा लिईरहेका छन् । उनीहरुले कुहिरोमा आधारित वातावरणको प्रयोग गरी पर्यटन क्षेत्रको उल्लेखनीय विकास गरेका छन् । जापानको अराशियामा कुहिरोले ढाकीरहने बाँसको जंगल फोटोग्राफर र ध्यान अभ्यास गर्न चाहनेहरूका लागि प्रमुख पर्यटकीय गन्तव्य वनेको छ ।

अमेरिकाको सेन फ्रान्सिस्को स्थित गोल्डेन गेट ब्रिज, मरीन हेडल्यान्ड्स क्षेत्र पनि कुहिरो पर्यटनका लागि कहलीएका स्थान हुन् । यहाँको समुद्री हावाबाट उत्पन्न हुने कुहिरोले अनौठा अनौठा दृश्य बनाउँछ । जसका कारण लाखौं पर्यटक फोटो खिच्न यहाँ आउने गर्छन । चीनको हुनान प्रान्तमा पर्ने झाङजियाजिए प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यहांका कुहिरोले ढाकिएका चुच्चा चट्टानहरूमा लाग्ने कुहिरोले विश्वभरीका पर्यटकको ध्यान तानीरहेको छ । त्यस्तै कुहिरो पर्यटन बाट विश्वमा धेरै फाईदा लिने देशमा भियतनाम पर्छ । भियतनामको सापाका पहाडी र जातीय गाउँहरूमा बर्षको धेरै समय कुहिरोले ढाक्ने गर्छ । यहांको ग्रामीण जीवन, फोटो पर्यटन, शान्त विश्रामको गन्तव्यको रूपमा विकास भएका छन् । जसले गर्दा यो गाउँमा होमस्टे, हस्तकला र संस्कृति अनुभवका प्याकेज बाट स्थानीय र त्यहांका सरकारले उल्लेख्य पर्यटकीय फाईदा लिएका छन् ।

यी देश तथा स्थानहरूले कुहिरो (हुस्सु) लाई अद्वितीय सौन्दर्य र अनुभावात्मक वातावरण का रूपमा प्रयोग गरेर पर्यटनको एउटा फरक मोडेल विकास गरेका छन् । सापा क्षेत्रमा मात्र पर्यटन बाट ३० हजार भन्दा वढी मानिसले रोजगारी पाएका छन् । यहांका होटल, यातायात, गाइड, फोटोग्राफी, हस्तकला र कृषिजन्य वस्तु बिक्री जस्ता कामबाट स्थानीय आयमा उल्लेखनीय वृद्धि भएको छ । सापाको पर्यटन क्षेत्रले २०२३ मा मात्रै २.५ लाख विदेशी पर्यटक र २० लाख आन्तरिक पर्यटक भित्र्याएको रेकर्ड छ ।
नेपालका पहाड तथा लेकाली भेगहरूले पनि त्यस्तै प्राकृतिक विशेषता बोकेको हुनाले ती देशका सफल उदाहरणहरूको अनुकरण गरेर नयाँ र दिगो पर्यटन विकासको शुरुवात गर्न सकिन्छ ।
पर्यटकलाई आकर्षित गर्न के के गर्ने त ?

हुस्सु देखीने उपयुक्त ठाउँमा ‘कुहिरो भ्यू प्वाइन्ट’ निर्माण गर्न सकिन्छ । पहाडको टाकुरो, चौर, डाँडाकाँडा र झ्यालयुक्त घरमा हुस्सु अवलोकन स्थल निर्माण गरी पर्यटकलाई कुहिरो हेर्न उत्साहित गराउन सकिन्छ ।
कुहिरोको सौन्दर्य फोटोग्राफर तथा कलाकारहरूका लागि स्वाभाविक आकर्षण हो । यस्ता स्थानमा फोटोग्राफी वर्कसप, पेन्टिङ क्याम्प र -Foggy Landscape Photography Tour_ जस्ता कार्यक्रम आयोजना गर्न सकिन्छ ।

हुस्सु बीचको गाउँ जति सुन्दर देखिन्छन, त्यति नै रमाइलो हुन्छ स्थानीय संस्कृति सँग घुलमिल हुनु पनि । तसर्थ, स्थानीय होमस्टेहरूमा बासको व्यवस्था, परम्परागत खानपान, नाचगान र हिंडडुलको कार्यक्रम संयोजन गरी हुस्सु अनुभवलाई थप गहिरो बनाउन सकिन्छ । हुस्सु भएको वातावरण शान्त, धैर्यपूर्ण र गम्भीर भावना सिर्जना गर्ने खालको हुन्छ । त्यहां ध्यान, योगा, प्राकृतिक ध्यान अभ्यास जस्ता गतिविधिहरूलाई जोडेर मनोवैज्ञानिक पर्यटकीय प्याकेज तयार गर्न सकिन्छ ।
प्रत्येक वर्ष हुस्सु धेरै लाग्ने सिजनमा ‘कुहिरो उत्सव’ आयोजना गर्न सकिन्छ । गीतसंगीत, लोकभाका, भिडीयो तथा तस्बिर प्रदर्शनी, परम्परागत खानाको मेला, रेथाने पशुपालनको दृष्य देखाउने आदि गराएर पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि कुहिरो हेर्ने ठाउँ सम्मको सडक, साइनबोर्ड, सुरक्षित अवलोकनस्थलको निर्माण भने गर्नुपर्नेछ ।Fog Tourism भन्ने अवधारणालाई धेरैले चिन्दैनन् । सामाजिक सञ्जाल, युट्युब, ट्राभल ब्लग, डिजिटल फोटो प्रदर्शनीको माध्यम बाट व्यापक रुपमा प्रचार गर्नु पर्ने आवश्यकता छ । रासायनिक प्रयोगबिनाको पहाडी कृषिका दृश्य र सांस्कृतिक विविधताकाको व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्नेछ ।
कुहिरो पर्यटन बाट कुन कुन क्षेत्रले फाईदा लिन सक्छन् ?
पर्यटकले कुहिरो अर्थात हुस्सु हेर्न गन्तव्य पुग्दा बास बस्नुपर्ने हुन्छ । यो अवस्थालाई ध्यानमा राखी स्थानीय होटल, होमस्टे र लजहरूले सेवा प्रदान गरेर प्रत्यक्ष आर्थिक फाइदा लिन सक्छन् । कुहिरो पर्यटनको विकासले गाइड, यातायात, फोटोग्राफी, यात्री व्यवस्थापन, मनोरञ्जन सेवा लगायतका क्षेत्रमा स्थानीय युवालाई रोजगारी दिन सक्छ ।
-1753674825.jpg)
पर्यटक आएपछि स्थानीय अर्गानिक कृषि उत्पादनहरु, चिया, आलु, अदुवा, खसी/भेंडा मासु, मौरीको मह, चौंरीको घिउ र छुर्पी, लोक हस्तकलाका सामान आदि बेच्ने अवसरहरू बढ्छन् । पर्यटक कुहिरो हेर्न मात्रै होइन, त्यो वातावरणभित्रको जीवन बुझ्न चाहन्छन् । यो चाहनाले गर्दा लोककथा, मौखिक गाथा, रीतिरिवाज, पहिरन आदिको संरक्षणमा पनि महत्व राख्दछ ।
कुहिरो पर्यटन मोडेल बाट हुस्सु अवलोकन ट्रेल, -Cloud Camps, Fog Walk Paths_ जस्ता क्षेत्रको विकास गर्न सकिन्छ । कुहिरो सिजनको पूर्वसूचना दिने -Weather App_ निर्माण गरेर पर्यटक माझ सुचना पुर्याउन सकिन्छ । जातीय समुदायको सहभागीता सुनिश्चित गर्दै होमस्टे प्रणालीलाई प्राथमिकता दिएर पनि अगाडी वढ्न सकिन्छ ।
निष्कर्ष :
नेपालका तेह्रथुम, संखुवासभा, इलाम, ताप्लेजुङ, रामेछाप, सोलुखुम्बु जस्ता पहाडी क्षेत्रहरूले प्राकृतिक कुहिरो, जातीय संस्कृतिको समायोजन र होमस्टेमा आधारित समावेशी पर्यटन मोडल अपनाएर काम गर्न सके कुहिरो पर्यटनबाट उल्लेखनीय फाइदा लिन सक्छन् ।

कुहिरो पर्यटन नयाँ अवधारणा भए पनि यसको मौसमी विशेषता र प्राकृतिक सौन्दर्यका कारण तीनजुरे मिल्के जलजले क्षेत्रले यसबाट ठूलो फाइदा लिन सक्छ । यो क्षेत्र उच्च पहाडको चिसो हापानी पाईने पुर्वी तराई, भारतको विहार र पश्चिम बंगाल राज्य बाट समेत नजीकको दुरीमा पर्छ । तीनजुरे मिल्के जलजले क्षेत्रमा कुहिरो पर्यटन प्रवर्धनकालागि सरकारले छुट्टै योजना, पूर्वाधार निर्माण र प्रवद्र्धन अभियान चलाएर पनि दीगो पर्यटनको रूपमा विकास गर्न सक्छ ।