विराटनगर । ओभरलोड भएको ट्याक्टर चेकजाँच गरेको विषयमा सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई अश्लिल शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।
कोशी गाउँपालिका– २ कोशी कटान क्षेत्रमा पूर्वपश्चिम राजमार्ग सुरक्षाका लागि खटिएको टोलीलाई अन्सारीले अश्लिल शब्द प्रयोग गर्दै कुटेर मारिदिने धम्कीसमेत दिएका हुन् । सोही क्रममा उनले ट्राफिक प्रहरीले घुस खाएको आरोप पनि लगाए ।
घटना शुक्रबार दिउँसोको हो । घटनापछि कोशी कटान क्षेत्रमा खटिएको ट्राफिक प्रहरीको युनिट नै तानिएको छ ।
ट्राफिक प्रहरी स्रोतका अनुसार, शुक्रबार कोशी कटान क्षेत्रमा बास ओभरलोड गरिएको ट्याक्टर चेकजाँच गर्दा कागजात भेटिएन ।
ट्राफिक प्रहरीले रोकेर जरिवाना काट्ने बताएपछि ‘ट्याक्टर आफ्नो हो’ भन्दै दलबलसहित गाउँपालिका अध्यक्ष अन्सारी पुगेका थिए । त्यसपछि विवाद सुरु भयो । ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गरेका उनले घुस खाएको आरोप लगाए ।
अध्यक्ष र ट्राफिक प्रहरीबीच विवाद भएको केही घण्टापछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोशी कटान क्षेत्रमा खटिएको प्रहरी नायब निरीक्षक कमलप्रसाद दाहाल नेतृत्वको ९ जनाको युनिटलाई नै फिर्ता बोलायो । दाहालको स्थानमा राजाराम यादवको नेतृत्वमा नयाँ टोली खटाएको छ ।
प्रहरीलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने सम्मको धम्की दिने पालिका अध्यक्षका विषयमा प्रशासन मौन छ । तर ट्राफिक प्रहरीका विषयमा छानबिन गर्न समिति गठन भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पालिका अध्यक्षले ट्राफिक प्रहरीका विषयमा प्रश्न उठाएपछि ट्राफिक प्रहरीका विषयमा छानबिनका लागि चार सदस्यीय टोली गठन भएको जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको हो ।
‘ट्राफिक प्रहरीको युनिट चेन्ज भएको छ, प्रहरीमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘जुन आरोप लगाइएको छ, पैसा माग्छ, घुस खान्छ भन्ने कुरा उठेपछि अनुसन्धान गर्दैछ ।’
कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की पालिका अध्यक्षले प्रहरीमाथि गरेको व्यवहारको विषयमा अनसन्धान भइरहेको बताउँछन् । अध्यक्षको अभिव्यक्ती टिपप्पणी गर्न लायक नभएको बताउँदै उनले छानबिनका लागि सुनसरी प्रहरीलाई निर्देशन दिएको उनले बताए । सुनसरी प्रहरीले पनि घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै अध्यक्ष अन्सारीले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा उनले पदको मर्यादा नराखी अश्लिल शब्द प्रयोग गरेको देखिन्छ ।
‘कोशीमा ट्राफिक प्रहरी चाहिँदैन, यहाँबाट गइहाल’ भन्दै उनले कुटेर मार्ने धम्की पनि दिए ।
भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका अध्यक्ष अन्सारी भने सम्पर्कमा आउनै चाहेनन् । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष हुन् । अनलाईन खवर बाट ।