सुनसरी । सरोकारवाला निकायमा दर्ता नगरी स्वास्थ्यसम्बन्धी विभिन्न जाँच गर्ने ल्याब उपकरण तथा एक्सरे मेसिन राखेर मेडिकल हल, डाइग्नोस्टिक सेन्टर सञ्चालन गर्ने आधा दर्जन व्यापारिक स्वास्थ्य संस्थालाई धरान उपमहानगरपालिका तथा राजस्व अनुसन्धान कार्यालयले बिहीबार कारबाही गरेको छ ।
कुनै पनि निकायमा दर्ता नगरी बिरामीको उपचार गर्दै आएका व्यापारिक स्वास्थ्य संस्थाले सर्वसाधारणको जीवनसँग खेलवाड गरेको भन्दै कानुनी उपचारको दायरामा ल्याइएको हो । सशक्त अनुगमनको क्रममा चरम लापरबाही देखिएपछि कारबाहीमा पर्नेमध्ये धरानकै सबैभन्दा पुरानो मेडिकल हल धरान औषधालयका सञ्चालक डा। तपन तरफदारले समेत दर्ता प्रमाणपत्र र राजस्व छली गरेको पाइएको छ ।
उनले धरान २ छाता चोकस्थित धरान औषधालयमा अनुमति नलिई ल्याब सञ्चालन गरेको र बिल बिजकसमेत नराखेपछि ल्याब सिल गरिएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार वर्षौंदेखि अनुमति नै नलिई ल्याब सञ्चालन गरिरहेको पाइएपछि तत्काललाई सिल गरिएको हो ।
‘२०७४ देखि प्रमाणपत्रसमेत नवीकरण नगरेको पनि पाइयो,’ अधिकृत सापकोटाले भने, ‘उनलाई सबै कागजात दुरुस्त राख्न निर्देशन दिइएको छ । ल्याब दर्ता गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।’
बिरामीको सामान्य स्वास्थ्य परीक्षणमात्र गर्ने गरेको भनेर अनुगमन टोलीलाई डा। तरफदारले ढाँट्दै फर्काउन खोजे पनि टोलीले भित्र प्रवेश गरेर निरीक्षण गर्दा मेडिकल सामग्री निर्मलीकरण गर्ने हट एअर मेसिन फेला पारेको थियो । टोलीले थप निरीक्षण गर्दा डा। तरफदारले वर्षौंदेखि गर्दै आएको गैरकानुनी कामको खुलासा भएको थियो । त्यसपछि उनीसँग अनुमतिपत्र मागिएको अधिकृत सापकोटाले बताए ।
टोलीले छाताचोक आसपासमा रहेका गीता राईको गार्जियन डाइग्नोस्टिक सेन्टर, सोहन झाको मोर्डन डाइग्नोस्टिक सेन्टर, बलराम विकको धरान मेडिकल, काजी गुरुङको नेसनल डाइग्नोस्टिक सेन्टर, लालुप्रसाद यादवको सुनसरी पोलोक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, सुरेशकुमार यादवको अनिता फार्मेसीलाई पनि कारबाही गरेको छ ।
बिरामी उपचारको नाममा दर्ता नगरी ल्याब र एक्सरे राखेर चर्को शुल्क लिने सबै व्यापारिक स्वास्थ्य मेडिकल हल, पोलिक्लिनिक, डाइग्नोस्टिक सेन्टरलाई तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । राजस्व अनुसन्धान कार्यालयले पनि कर ऐनको दफा ११९ अनुसार ती सबैलाई कारबाहीस्वरुप जरिवाना गरेको छ ।
धरानस्थित राजस्व कार्यालयका अनुसार कागजपत्रसमेत जफत गरी थप अनुसन्धान भइरहेको छ । ‘धरानका नाम चलेका डाक्टर र स्वास्थ्य संस्थाहरूले समेत अनुमति नलिई सेवा सञ्चालन गरिरहेकोमा चकित छौं,’ एक अधिकृतले भने, ‘धरानका पुराना र कहलिएका डा। तरफदारजस्ता व्यक्तिले अरुका लागि उदाहरण बन्नुपर्नेमा कर छल्नकै लागि कानुन मिचेको देखियो ।’ टोलीमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा, इलाका प्रहरी कार्यालय, नगर प्रहरी, इलाका प्रशासन र राजस्व कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू थिए ।
उपमहानगरले बजार अनुगमन गरेपछि ल्याब सिल गरिदिएको बारेमा मोर्डन डाइग्नोस्टिक सेन्टरका सञ्चालक सोहन झाले असन्तुष्टि जनाए । उनका अनुसार चार वर्षदेखि स्थानीय तहमा दर्ता बन्द छ । ‘स्पष्ट कानुन अझै नबनेकाले वडामा दर्ता गरेर सञ्चालन गरेको अवस्थामा उपमहानगरले अनुगमन गरेर अलमलमा पार्यो,’ झाले भने । इकान्तिपुर बाट ।