तेह्रथुम। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्ने उद्देश्यले लालीगुराँस नगरपालिकाले युवाहरुलाई वेकरी तालिम दिएको छ । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी सिर्जना गर्न बसन्तपुरमा बेकरी तालिम दिएको हो ।
बेकरी व्यवसाय सञ्चालनका लागि आवश्यक आधारभूत सीप, विभिन्न प्रकारका ब्रेड, केक, बिस्कुट तथा अन्य बेकरी परिकार उत्पादन गर्ने विधि, खाद्य स्वच्छता, गुणस्तर व्यवस्थापन, प्याकेजिङ, बजार व्यवस्थापन, लागत तथा नाफा विश्लेषण, ग्राहक सेवा र व्यवसाय सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान सहभागीहरुलाई प्रदान गरिएको थियो। सहभागीहरूले तालिमका क्रममा प्रयोगात्मक अभ्यास मार्फत बेकरी उत्पादन गर्ने सीप सिकेका छन्।

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्जुन माबोहाङले विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशमै उत्पादन मूलक क्षेत्रमा उपयोग गर्न सकिए रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन ठूलो योगदान पुग्ने बताउनु भयो। बेकरी व्यवसाय कम लगानीबाट पनि सुरु गर्न सकिने, बजारको माग निरन्तर रहने तथा विस्तारको राम्रो सम्भावना भएकाले यो उद्यम युवाका लागि उपयुक्त विकल्प भएको नगर प्रमुख माबोहाङको भनाई थियो ।
समापन कार्यक्रममा सहभागीहरूले विदेशमा आर्जन गरेको अनुभव सँगै तालिम बाट प्राप्त ज्ञान र सीपलाई उपयोग गरी आफ्नै गाउँघरमा बेकरी व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताए। तालिम पछि विदेशमा सिकेको सिप र कार्यलाई स्वदेशमा प्रयोग गर्दै आत्मनिर्भर बन्ने आत्मविश्वास बढेको उनीहरूले बताए।

सहभागीहरूले सरकारी निकायबाट यस्ता व्यावसायिक तथा सीपमूलक तालिम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। तालिमसँगै सहुलियतपूर्ण ऋण, व्यवसाय दर्ता, उपकरण खरिद, प्राविधिक परामर्श र उत्पादनको बजारीकरणमा सहयोग भए उद्यम सञ्चालन गर्न सहज हुने उनीहरूको भनाइ थियो।
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः विदेश जानुपर्ने बाध्यता हटाउदै स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्ने उदेश्यले तालिम आयोजना गरीएको नगरपालिकाले जनाएको छ । तालिम बाट प्राप्त सीपले स्थानीय स्तरमा साना तथा मझौला उद्यम स्थापना हुने, उत्पादन वृद्धि हुने र नयाँ रोजगारीका अवसर सिर्जना हुने प्रमुख प्रशासकीय अधिकृत रविन कार्कीले वताउनु भयो ।
तालिमपछि सहभागीहरूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर आफ्नै ठाउँमा बेकरी उद्योग स्थापना गरी अन्य युवालाई समेत रोजगारी दिने लक्ष्य लिएको बताएका छन्।