काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दुविधाबिना निर्वाचनमा होमिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालालाई बुधबार सम्बोधन गर्दै ओलीले एमाले एक पार्टी र अरु सबै मिलाएर एक पार्टी भएकाले निर्धक्क भएर चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जानसमेत भनेका छन् । प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धतापत्रबारे व्याख्या गरे । कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए ।