तेह्रथुम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको आयोजनामा लालीगुराँस नगरपालिकामा उद्योगी तथा रोजगारदाता संगको एकदिने अन्तरक्रिया कार्यक्रम वुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा श्रमाधारित उद्यमको विकास, स्थानीय स्तरमा रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन तथा बेरोजगार युवालाई आय आर्जनमुखी गतिविधिमा सहभागी गराउने विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय सरकार, रोजगार सेवा केन्द्र, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, उद्यमी, युवा तथा रोजगारको खोजीमा रहेका व्यक्तिहरूको सहभागिता रहेको लालीगुराँस नगरपालिकाका रोजगार संयोजक निर्मल कार्कीले वताउनु भयो ।

सहभागीहरुले बढ्दो वैदेशिक रोजगारीको प्रवृत्तिलाई न्यूनीकरण गर्न स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित उद्यम विकास अपरिहार्य रहेको बताए । कृषि, पशुपालन, मौरीपालन, पर्यटन, घरेलु तथा साना उद्योग, वनजन्य उत्पादनको प्रशोधन, उत्पादीत वस्तुको डिजिटल मार्केटिङ लगायतका क्षेत्रमा उद्यम विस्तार गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने उनीहरूको भनाइ थियो ।
सहभागीहरूले श्रमप्रति सम्मानको संस्कार विकास गर्दै सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, आधुनिक प्रविधिको प्रयोग तथा बजार व्यवस्थापनमा सरकारको सहयोग आवश्यक रहेको धारणा राखेका थिए । उद्यम सञ्चालन गर्न चाहने युवाहरूलाई आवश्यक जानकारी, प्राविधिक सहयोग र वित्तीय पहुँच सहज बनाउन सके स्वरोजगारको अवसर उल्लेखनीय रूपमा बढ्ने लालीगुराँस नगरपालिका ४ चित्रेमा चिज उद्योग संचालन गर्दै आउनु भएका कृष्ण प्रसाद घिमिरेले वताउनु भयो ।
अन्तरक्रियाका क्रममा रोजगार सेवा केन्द्रले सञ्चालन गरिरहेका कार्यक्रम, रोजगारमुखी कार्यक्रम, श्रममा आधारित आयोजना, उद्यमशीलता विकासका अवसर तथा सरकारले उपलब्ध गराउँदै आएका विभिन्न सेवाबारे सहभागीलाई जानकारी गराइएको थियो । बेरोजगार सूचीकृत नागरिकलाई उपलब्ध गराइने सेवा तथा स्थानीय तहले रोजगार प्रवद्र्धनका लागि खेल्नुपर्ने भूमिकाका विषयमा समेत छलफल भएको थियो ।
-1783510685.jpg)
कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा उपलब्ध प्राकृतिक स्रोत, कृषि उत्पादन, वनजन्य वस्तु र पर्यटनको सम्भावनालाई उद्यम सँग जोडेर आयआर्जन बढाउन सकिने सुझाव दिएका थिए । उनीहरूले उत्पादन सँगै बजारीकरण, ब्रान्डिङ र मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
यस्ता अन्तरक्रियाले रोजगार सम्बन्धी नीति, योजना र कार्यक्रमलाई स्थानीय आवश्यकता सँग जोड्न सहयोग पुगेको रोजगार संयोजक कार्कीले वताउनु भयो । कार्यक्रममले रोजगारदाता, रोजगार खोज्ने व्यक्ति र स्थानीय सरकार बीच समन्वय र सहकार्यको वातावरण निर्माण हुने नगरपालिकाले जनाएको छ ।
स्थानीय उद्यमी र उद्यमलाई प्रोत्साहन गरी स्थानीय स्तरमै दिगो रोजगारी सिर्जना गर्ने, युवाको अन्यत्र पलायन घटाउने तथा उत्पादन मूलक अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।