तेह्रथुम । वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई स्वदेशमै स्वरोजगार र उद्यमशीलता मार्फत आत्मनिर्भर बनाउन छथर गाउँपालिकाको रोजगार सेवा केन्द्रले ६ दिने उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ।
गाउँपालिका भित्रका विभिन्न वडाबाट वैदेशिक रोजगारको अनुभव लिएर फर्किएका नागरिकका लागि लक्षित गरी आयोजना गरीएको तालिममा व्यवसाय सञ्चालनका आधारभूत सीप, उद्यम व्यवस्थापन तथा स्थानीय स्रोत–साधनमा आधारित आयआर्जनका अवसरबारे प्रशिक्षण प्रदान गरिएको रोजगार सेवा केन्द्रले जनाएको छ।
तालिमको मुख्य उद्देश्य वैदेशिक रोजगार बाट प्राप्त सीप, अनुभव र बचतलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु रहेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्वुले वताउनु भयो । पछिल्लो समय विदेशबाट फर्किने युवाको संख्या बढ्दै गएको अवस्थामा उनीहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष लिम्वुले वताउनु भयो ।
तालिमका क्रममा सहभागीलाई उद्यमशीलताको अवधारणा, सफल उद्यमीका गुण, व्यवसाय छनोटका आधार, व्यवसाय योजना (बिजनेस प्लान) निर्माण, बजार विश्लेषण, वित्तीय व्यवस्थापन, लागत तथा नाफा गणना, लेखा व्यवस्थापन, ग्राहक सेवा र बजार प्रवर्द्धन सम्बन्धी विषयमा जानकारी दिइएको थियो।
त्यसैगरी स्थानीय स्तरमा सम्भावना रहेका कृषि, पशुपालन, मौरीपालन, तरकारी खेती, फलफूल उत्पादन, घरेलु तथा साना उद्योग, पर्यटन तथा सेवा क्षेत्रमा आधारित उद्यम सञ्चालनका अवसरबारे समेत प्रशिक्षण प्रदान गरिएको रोजगार सेवा केन्द्रले जनाएको छ । सहभागीलाई उपलब्ध स्रोत–साधनको पहिचान गरी त्यसको व्यावसायिक उपयोग कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास समेत गराइएको थियो ।
तालिममा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने सहुलियतपूर्ण कर्जा, उद्यम सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, व्यवसाय दर्ता, कर सम्बन्धी आधारभूत जानकारी तथा सरकारी निकायबाट उपलब्ध हुने विभिन्न अनुदान र सहजीकरण सेवाबारे समेत जानकारी गराइएको थियो।
रोजगार सेवा केन्द्रका अनुसार वैदेशिक रोजगार बाट फर्किएका धेरै नागरिक सँग अनुभव र केही पूँजी भए पनि व्यवसाय सञ्चालन सम्बन्धी ज्ञानको अभावका कारण उनीहरूले प्रभावकारी रूपमा लगानी गर्न नसकेको अवस्था छ। यस्ता तालिमले उनीहरूलाई व्यवसाय सुरु गर्न आत्मविश्वास प्रदान गर्ने विश्वास गरिएको छ।
तालिमका सहभागीहरूले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गरी आयमूलक गतिविधि सञ्चालन गर्ने इच्छा व्यक्त गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले वताउन भयो । सहभागीहरुले स्थानीय स्तरमा उपलब्ध अवसरको पहिचान गर्न तथा व्यवसाय सञ्चालनका लागि आवश्यक प्रारम्भिक ज्ञान प्राप्त भएको बताएका छन्।
छथर गाउँपालिकाले बेरोजगारी न्यूनीकरण र स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सीपमूलक तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। गाउँपालिकाले वैदेशिक रोजगारलाई मात्र विकल्पका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गरी स्वदेशमै रोजगारी र उद्यमको वातावरण निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुदै गएको जनाएको छ ।
सहभागीहरूले आफूले सञ्चालन गर्न चाहेका सम्भावित व्यवसायको प्रारम्भिक योजना प्रस्तुत गरेका थिए। यस्ता कार्यक्रमले वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुर्याउने गाउँपालिका अध्यक्ष लिम्वुको भनाई छ ।