तेह्रथुम–पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा गठवन्धनको तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।
पाहिम ४ हजार ६ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका रामचन्द्र थपलीयालाई ६ सय ८४ मत अन्तरले पछि पार्दै पाहिम विजयी भए । उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठवन्धनकै नेकपा माओवादीका बलीराज ईङनाम विजयी भएका छन् । निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् । कन्दङवाले ४ हजार ७० मत प्राप्त गरीन् ।
विजयी पाहिम यस अघि आठराई गाउँपालिका २ का निवर्तमान वडाध्यक्ष हुन् । वडाध्यक्षको कार्यकालमा आफुले पाउने पारीश्रमिक सामाजीक र विकास निर्माण कार्यमा लगाएर पाहिमले चर्चा वटुलेका थिए । नेपाली कांग्रेसका आठराई गाउँकार्यसमितिका सभापती समेत रहेका पाहिम जनमुखी काम गर्ने नेताका रुपमा पछिल्लो समय देखीएका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमाले बाट विजयी गाउँपालिका अध्यक्ष मानवहादुर लिम्वु एमाले विभाजन पछि नेकपा एस तर्फ लागेका थिए । त्यसको असर पनि आठराईमा एमालेलाई परेको थियो ।
त्यही माथी माओवादी समेतको साथ पाए पछि कांग्रेसलाई चुनाव जित्न सहज भएको एमालेले जनाएको छ ।
एमालेको पकड रहेको आठराईमा यस पटक वहुमत सहित नेपाली कांग्रेस विजयी भएको छ । ७ वडा रहेको आठराईमा २, ३, ४ र ६ नम्बर वडामा कांग्रेस विजयी भएको छ भने १, ५ र ७ मा मात्र एमाले उम्मेदवार विजयी भएका छन् ।