संखुवासभा । चौंतिस वर्षअघि अमेरिकी पदयात्री एन्टोनिया न्युवर (टोनी) नेपालको सोलुखुम्बु क्षेत्रको भ्रमणमा आएकी थिइन् । उनले आफ्ना नेपाली सहयोगी आङदोमे शेर्पालाई सोधेकी थिइन्, तिमीलाई म के सहयोग गरौं ?
तिनै शेर्पाले गाउँमा सामुदायिक पुस्तकालय भए हुन्थ्यो भनेर दिएको जवाफ पछिको नतिजामा आज देशभरका ४५ जिल्लामा ७५ वटा आत्मनिर्भर सामुदायिक पुस्तकालय खुलेका छन् ।
तिनै न्युवरले स्थापना गरेको ग्रामीण शिक्षा तथा विकास (रिड) ले नेपाली लगानी र स्रोतमा संखुवासभाको धर्मदेवी नगरपािलका स्थित मुढे वजारमा धर्मदेवी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको स्थापना गरेको छ । सन् १९९१ मा सोलुखुम्बुको जुनबेसीमा स्थापना भएको पहिलो सामुदायिक पुस्तकालय पछिको विकासक्रम र समयमा आएको अन्तर संगै पछिल्लो पटक हिमाली जिल्ला संखुवासभाको मुढे शनिश्चरे वजारमा ३ करोड ३३ लाख २८ हजार रुपैंया लागतमा सामुदायिक पुस्तकालय संचालनमा आएको हो ।

रिड पुस्तकालय मोडेल अहिले नेपालममा मात्र नभएर भारत र भुटानमा समेत विस्तार भैसकेको छ । रिडका पुस्तकालय परियोजना, दक्षिण एसियामा मात्रै नभएर विश्वव्यापी रूपमा नमुना काम बन्दै गएको र यसले भिन्न पहिचान पाउँदै गएको मुढे वजारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रिड नेपालका उप निर्देशक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आत्मनिर्भरताको नमुना बनेको रिड नेपालको सहयोगमा संचालनमा ल्याईएको धर्मदेवी सामुदायीक पुस्तकालयले कृषि र पशुपालन प्रवद्र्धन, युवा र महिलाका लागि आत्मनिर्भरता कार्यक्रम, प्राविधिक व्यवहारिक शिप तालिम कार्यक्रम, नेतृत्व विकास कार्यक्रम लगायत विविध कार्यक्रम संचालन गरी पहिलो चरणमा १ हजार भन्दा वढी समुदाय सदस्यहरुलाई लाभान्वित गर्ने र १० हजार भन्दा वढीलाई अप्रत्यक्ष रुपमा स्रोत र सुचनामा पहुँच मार्फत फाईदा पुर्याउने अपेक्षा राखिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष भिम लिङखाले वताउनु भयो ।
-1756225347.jpg)
धर्मदेवी नगरपालिका संखुवासभा समेतको ५० लाख रुपैंया लागत साझेदारीमा निर्माण सम्पन्न भएको पुस्तकालयले विभिन्न सीपमूलक कार्यक्रम तथा तालिम समेत सञ्चालन गरी स्थानीयवासीको सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग पुर्याउने उदेश्य राखेको नगर प्रमुख उदयचन्द्र पौडेलले वताउनु भयो ।
भर्खरै मात्र निर्माण सम्पन्न भएको पुस्तकालयमा पुस्तक संग्रह मात्रै नभएर शिक्षा, सीप र सशक्तीकरणका कार्यक्रम समेत संचालन गर्ने उदेश्य राखिएको पुस्तकालय व्यवस्थापन समितिका सचिव माधव सुवेदीले वताउनु भयो । तालीम उपलब्ध गराएका यूवालाइ बीउ पुँजी उपलब्ध गराएर यूवाहरुलाइ उद्यम प्रवद्र्धनमा समेत सघाउने रिड नेपालका उपनिर्देशक श्रेष्ठले बताउनु भयो । सामाजिक परिचालन मार्फत पशुपालन र कृषि उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्धित निकाय संग समन्वय गरेर पुस्तकालयले काम गर्नेछ ।

पुस्तकालयले तालिम प्रदान गरेर प्लम्बर, मेसन र इलेक्ट्रीसियन जस्ता जनशक्ति समेत उत्पादन गर्ने तयारी गरेको जनाएको छ । समुदायमा आधारित समावेशी विपत् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत संस्थाले हाल सम्म नेपालका ४५ जिल्लामा ७५ वटा पुस्तकालय स्थापना गरीसकेको जनाएको छ । रिड नेपालकै २० करोड रुपैंयाको आर्थिक सहयोगमा धर्मदेवी र मादी नगरपालिकामा दुई सुविधा सम्पन्न विद्यालय भवन समेत निर्माण भैरहेका छन् ।