तेह्रथुम । दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले छथर गाउँपालिकामा दलित सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम अन्तर्गत एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
छथर गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न वडाका दलित समुदायका महिला, पुरुष तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूलाई संविधानले प्रदान गरेका अधिकार, स्थानीय तहबाट उपलब्ध सेवा–सुविधा, सामाजिक समावेशीकरण, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका वक्ताहरुले समाजमा अझै पनि विद्यमान विभेद, असमानता र पछौटेपनको अन्त्य गर्न दलित समुदायको सशक्तीकरण आवश्यक रहेको बताए। उनीहरूले शिक्षा, सीप, रोजगारी र नेतृत्व विकासमार्फत समुदायलाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको धारणा राखे।
अभिमुखीकरणका क्रममा सहभागीहरूलाई स्थानीय सरकारबाट प्रदान गरिने विभिन्न सेवा, सामाजिक सुरक्षा कार्यक्रम, सीप विकास तथा आयआर्जनसँग सम्बन्धित अवसरहरूबारे जानकारी गराइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिनुभयो । दलित समुदायको हकअधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाहरू र राज्यका विभिन्न निकायबाट प्राप्त गर्न सकिने सहयोगबारे पनि छलफल गरिएको आयोजकले जनाएको छ ।
यस्ता कार्यक्र मार्फत दलित समुदायले आफ्नो अधिकार, अवसर र जिम्मेवारी बारे जानकारी प्राप्त गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्वुले वताउनु भयो ।
छथर गाउँपालिकाले दलित समुदायको उत्थानका लागि आगामी दिनमा पनि क्षमता विकास, सीपमूलक तालिम, आयआर्जन प्रवर्द्धन तथा सामाजिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। गाउँपालिकाका अनुसार स्थानीय तहको विकास प्रक्रियामा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ।