तेह्रथुम । लालीगुराँस नगरपालिका १ मा रहेको चैते सामुदायिक वन उपभोक्ता समुहको ५१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको सभामा उपभोक्ता, स्थानीय सरोकारवालाहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक अगुवा, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, प्रहरी, पत्रकार, डिभिजन वन अधिकृत लगायतको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष खड्काले समुहले विगतका बर्षहरुमा अनेकौं चुनौती पार गर्दै सामुदायिक वन संरक्षण र व्यवस्थापनलाई संस्थागत बनाएको बताउनु भयो । उपभोक्ताहरूको ऐक्यबद्धता र सक्रियताले मात्र आज यो वन तेह्रथुम जिल्लाकै एक उदाहरणीय सामुदायिक वन बन्न सफल भएको अध्यक्ष खड्काले वताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले वनको उचित उपयोग, जैविक विविधताको संरक्षण, पर्यटन क्षेत्रको विकास, वातावरणीय सन्तुलन र आम्दानीका अवसर सृजना समुहको मुख्य उदेश्य रहेको वताउनु भयो ।

साधारणसभामा लेखा समिति संयोजक देवेन्द्र थापाले ५४ लाख ५५ हजार ४ सय ९९ रुपैंया बरावरको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । समुहको पहलमा व्यवसायीक बेमौषमी तरकारी खेती गरीरहेका उपभोक्ता किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत ५ लाख रुपैंया बरावरको वन्दाको विउ वितरण गरीएको जानकारी दिईयो । वन समुहमा ३ सय ३८ उपभोक्ता आवद्ध छन् ।

यस बाहेक उपभोक्तालाई न्युन मुल्यमा दाउरा विक्री, घाँसपात व्यवस्थापन, नर्सरी उत्पादन, पर्यटकीय गतिविधि र विभिन्न साझेदारी कार्यक्रमहरू बाट समेत आयस्रोत वढाउने काम भैरहेको कोषाध्यक्ष लाल वहादुर नेपालीले वताउनु भयो । त्यस्तै समुहले वन कार्यालयको सहयोगमा उपभोक्तालाई तालिम, वन डढेलो नियन्त्रण, औषधि जन्य वनस्पति संरक्षण, वन क्षेत्रमा अवैध कटान नियन्त्रण जस्ता तालिम तथा जानकारी समेत प्रदान गरीएको साधरणभामा जानकारी दिईयो ।

वन समुहले संचालन गर्ने गरी डिभिजन वन कार्यालय तेह्रथुमले १० लाख रुपैंया बरावरको सिस्नो सुकाएर धुलो वनाउने मेसिन उपलव्ध गराएको छ । साधरणसभालाई सम्वोधन गर्दै डिभिजन वन अधिकृत वद्री प्रसाद शाहले उपभोक्ताकै सक्रियतामा चैते वन क्षेत्रमा अहिले गुराँस सहितका वनस्पतिको विस्तार हुंदै गएको, जैविक विविधता संरक्षण भएको र यही कारण यो वन क्षेत्रमा आउने पर्यटकको संख्या समेत वढेको वताउनु भयो । पछिल्लो समय यस वनमा केही उपभोक्ता बाटै वन क्षेत्र अतिक्रमण भैरहेको भन्दै अधिकृत शाहले यस्तो कार्य कानुनी विपरीत भएकाले अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गर्नुभयो । ‘अव वन क्षेत्र अतिक्रमण होईन, सवै उपभोक्ता मिलेर आमदानीका कार्यक्रमहरु संचलन गर्नुपर्छ’ शाहले भन्नुभयो ।

समुहले सामाजिक उत्तरदायित्वका काममा पनि सहयोग गर्दै आईरहेको लेखा समितिका सदस्य डम्वर वहादुर दाहालले वताउनु भयो । समुहको आमदानी वढाउन र उपभोक्ताकै सुविधाका लागि उन्नत नश्लको विउ गोरु समेत खरीद गरेर ल्याएर पालन गरीरहेको छ । साधारणसभामा महिला उपभोक्ताको सहभागिता उल्लेखनीय देखिएको थियो । सामुदायिक वन व्यवस्थापन र संरक्षणमा महिला उपभोक्ताको महत्वपुर्ण सहयोग रहेको वन समुुहका उपाध्यक्ष टंक वहादुर सुवेदीले वताउनु भयो ।

कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाले सामुदायिक वनको महत्व बारे आफ्ना धारणा राखेका थिए । वडा नम्वर १ का वडाध्यक्ष दान वहादुर खड्काले चैते सामुदायिक वनले यस वडाको मात्र नभएर सिंगो नगर र जिल्लाकै पर्यटकीय महत्व झल्काएको धारणा राख्नुभयो । साधारणसभामा छिरीङ लामा, हिमचन्द्र गुरुङ लगायतका उपभोक्ताले समुहमा संचालन भैरहेका गतिविधी बारे चासो राख्नुभएको थियो ।

यद्यपि प्रगति प्रशंसनीय भए पनि साधारणसभाले केही चुनौतीहरू लाई पनि पहिचान गरेको छ । वन क्षेत्रमा अवैध अतिक्रमण, रुख कटान, खुल्ला चरी चरन जस्ता कारणले वन क्षेत्रको संरक्षणमा चुनौती थपीदै गएको निष्कर्ष साधरणसभाले निकालेको छ । वन पैदावारको बजार व्यवस्थापन चुनौतीपूर्ण हुनु र जलवायु परिवर्तनका कारण वन डढेलो, कीरा, रोग र पानीको स्रोत सुक्ने समस्या वढ्दै जानुपनि साधरणसभाले चुनौतीको रुपमा लिएको छ ।

यि चुनौतीका विच समुहले आगामी वर्षमा थप महत्वपुर्ण काम गर्ने योजना अघि सारेको छ । समुहले पर्यटन कार्ययोजना वनाएर वन क्षेत्रलाई पर्यटन व्यवयसाय संग जोढ्ने योजना अघि सारेको छ । वन पैदावारको प्रशोधन र मूल्य वृद्धि गरेर बजार विस्तार गर्ने रणनीति पनि समुहले अघि सारेको सचिव सृजना गुरुङले वताउनु भयो ।